
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अहिले केही शक्तिहरूले संविधान च्यात्न खोजिरहेको आरोप लगाउनु भयो ।
संविधान च्यात्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सकिने पनि उहाँले चेतावनी दिनु भयो। शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
केपी प्रधानमन्त्री भएदेखि नै अहिलेको संविधानमाथि यो वा त्यो बहानामा प्रहार गरिरहेको उहाँले बताउनु भयो । अहिले मुलुकमा दुईधारको आन्दोलन जारी रहेको छ। संविधान भङ्ग गर्ने र रक्षा गर्नेको आन्दोलन चलिरहेको उहाँले बताउनु भयो ।
अहिलेको सरकारले भङ्ग गर्नको लागि र काङ्ग्रेससहितका अन्य दलले रक्षा गर्नुपर्ने आन्दोलनको नेतृत्व गरिरहेको नेता खाँणले बताउनु भयो ।
असली मयूर फाँटमा रहेको र नक्कली मयूर सिंहदरबारमा बसेर यसको नेतृत्व गरिरहेका छन्। उहाँले भन्नु भयो कुनै हालतमा संविधान भंग हुने छैन। अझै परिष्कृत गरेर पछाडि परेका समुदाय र वर्गको हितमा बन्नेछ।
नेपालको राजनीतिमा लागेको बादल अबको केही दिनमा फाटेर जाने पनि उहाँले बताउनु भयो । मडारिएको बादलभित्र पनि चाँदीको घेरा हुने र छिट्टै राजनीतिले सही बाटो लिने नेता खाँणले बताउनु भयो ।