१३ बैशाख २०८१, बिहीबार

नुवाकोटकी तामाङ भारतमा कोठी सञ्चालक, विदुर नगरपालिकाबाट पक्राउ

human trafficking
सांकेतिक तस्विर

नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ ।

प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेच बिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ । उनले भारतको नयाँ दिल्ली स्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उनका विषयमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद समेत थप गरी अनुसन्धान जारी छ ।

पीडित महिलालाई उनका सहयोगीले चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्ने बहानामा काठमाडौँबाट लगेको अनुसन्धानमा खुलेको छ । त्यसपछि गिरोहले बीच बाटोमा पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्ली स्थित तामाङको कोठीमा पु¥याएर बिक्री गरेको खुलेको न्यौपानेले बताउनुभयो ।

त्यसपछि तामाङले पीडितलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाएकी थिइन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनका सहयोगी अन्यको खोजी जारी रहेको ब्युरोले जनाएको छ ।