१३ बैशाख २०८१, बिहीबार

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीका नाम सिफारिश

Supreme Court 43KnAVGEAY

न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिश गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायण प्रसाद पौडेल र ऋषि राजभण्डारीका नाम सिफारिश गरिएको छ । नायब महान्यायाधिवक्ता पौडेललाई उच्च अदालत पाटन र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटनबाट उच्च अदालत पोखराका न्यायाधीशमा सिफारिश गरिएको हो ।

न्याय सेवा राजपत्र प्रथम श्रेणीबाट रामेश्वर रेग्मी र ममता खनाललाई उच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको छ । बैठकले अधिवक्ता तर्फबाट रसुवाका फुर्पा तामाङ, सिरहाकी श्रीधराकुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनमसिंह चन्द, काभ्रेपलाञ्चोकका सागर विष्ट, सिरहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम उच्च अदालतका न्यायाधीशमा सिफारिश गरेको छ ।

त्यस्तै जिल्ला न्यायाधीशमा जगत नारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुन प्रसाद कोइराला, अमृत बहादुर बस्नेत र मेदिनी प्रसाद पौडेलका नाम सिफारिश भएको छ ।