१४ बैशाख २०८१, शुक्रबार

प्रलोभन अस्वीकार गर्दै प्रहरी, एक हप्तामा घुस दिन खोज्ने ४ जना पक्राउ

prahari 1024x575 1

चितवन ट्राफिक प्रहरीले घुस दिन खोज्ने चालकहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । पछिल्लो एक हप्तामा प्रहरीले ४ जना चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले आर्थिक लेनदेनमा शुन्य सहनशिलता अपनाएर घुस दिन खोज्ने वा दिने चालक तथा घुस लिने प्रहरी दुबैलाई कारबाही गर्ने गरिएकोे जानकारी दिए ।

आफ्नो गल्ती छुपाउन वा गल्तीबाट छुटकरा पाइन्छ की भन्ने आशले चालकले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न वा घुस दिन खोज्छन् । ट्राफिक प्रहरीले आर्थिक प्रलोभन अस्वीकार गरी प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारवाही गर्ने अभियान नै चलाएर काम गरिरहेको छ ।

एसपी अधिकारीका अनुसार पछिल्लो एक हप्तामा पक्राउ पर्ने चालकहरुमध्ये एक जना ट्रक चालकले कागजमा बेरेर एक हजार रुपैयाँ दिन खोजेका थिए । यस्तै अर्का एक जना ट्रक चालकले सवारी चालक किताबभित्र एक हजार रुपैयाँ राखी प्रहरीलाई घुस दिन खोजेका थिए । यस्तै अरु दुई जनामा एउटा कार चालक र अर्का कारमा सवार रहेका छन् । नारायणगढबाट काठमाडौं जाँदै गरेका उनीहरुले यात्रुलाई चढाएर रकम अशुल्न खोजेका थिए । प्रहरीका अनुसार उनीहरुले ट्राफिकलाई पनि घुस खुवाउनुपर्छ भन्दै रकम असुलेका थिए । प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा पनि प्रहरीसँग अभद्र व्यवहार देखाएको एसपी अधिकारीले जनाए ।