१३ बैशाख २०८१, बिहीबार

हङकङमा कोरोना भाइरसको खोप आविष्कार !

coronavirus

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अनुसन्धानकर्ताले बुधबार हाल विश्वमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसको खोप आविष्कार गरेको दाबी गरेका छन् । तर तिनीहरूले यसको सफल परीक्षण गर्न केही समय लाग्ने बताएका छन्।

सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्। हङकङ विश्वविद्यालयका प्राध्यापक युनले खोप तयार भइसके तापनि जनावरमा यसको परीक्षण गर्न लामो समय लाग्ने बताएका छन् ।

चीनमा बुधबारसम्ममा १ सय ३२ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न मुख्य भूमि चीन र अमेरिकाका वैज्ञानिकहरू पनि लागि परेका छन् । यो खोप जनावरमा परीक्षण गर्न महिनौं लाग्ने त्यसपछि मानिसमा प्रयोग गर्न अर्को एक वर्ष लाग्न सक्ने बताइएको छ। चीनको हुबेई प्रान्तस्थित वुहानबाट फैलिएको यो भाइरस दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ ।

यसबाट कम्तीमा ६ हजार मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

सिंगापुर र जर्मनीमा पनि यो भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा संक्रमित हुनेको संख्या पनि बढेको छ । चिनियाँ नयाँ चान्द्रिक वर्ष मनाउने समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो। यस पर्वको दौरान लाखौं चिनियाँ आफन्त र साथीहरूलाई भेट्न जाने गर्दछन्।

यस भाइरसको प्रसारमा रोक लगाउन सरकारले नयाँ वर्षको बिदा तीन दिन थपेर आइतबारसम्म लम्ब्याइएकोे हो। चीन सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा नगर्नका लागि सचेत गराएको छ। अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई चीन यात्रा नगर्न सूचना जारी गरिसकेको छ।
एजेन्सी