१९ बैशाख २०८१, बुधबार

सुर्खेतमा टिपरकाे ठक्करबाट मृत्यु भएका सिंहकाे शव अझै बुझेनन् परिवारले

surkhet 2

पीडित परिवारले टिपर धनी नआउञ्जेल र उचित क्षतिपूर्ति उपलब्ध नगराउञ्‍जेल शव नबुझ्ने बताएका छन्।

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-३, मा १४ माघमा टिपरले किचेर मृत्यु भएका कालीकोट महावै गाउँपालिका–३, सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहका परिवारले आज पनि शव बुझेनन्।

भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ बजे ठक्कर दिँदा घटनास्थलमै उनकाे मृत्यु भएको थियो। उनको मृत्युपश्चात् पीडित परिवारको सहमतिबिना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै उनीहरूले आज साँझ साढे ६ बजे सडकमा प्रदर्शन गरेका थिए।

मृतक सिंहको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। पीडित परिवारले टिपर धनी हरि विसी नआउञ्जेल र उचित क्षतिपूर्ति उपलब्ध नगरुञ्जेल शव नबुझ्ने र भाेलि, १६ माघमा सडक यातायात बन्द गर्ने तथा बाँकी संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले भाेलिसम्म पीडित परिवारसँग उचित छलफल गरेर समस्या समाधान गर्ने बताएको छ। ~ रासस