१९ बैशाख २०८१, बुधबार

दैलेखका युवापुस्ता परम्परागत सीप सिक्दै, बुढापाका सिकाउँदै

Sorojghar

दैलेख जिल्लामा परम्परागत रुपमा रहेको सिप नयाँ पुस्ताले सिक्दै आएका छन् । रोजगारको लागि विदेशीएका धेरैजसो नागरिकहरु विदेशमा सिकेको सिप गाउँमै लगानी गर्न चाहन्छन् । युवाहरु नयाँ सीप सिक्न रुची देखाएपछी गाउँमामा हुने पुरानो पुस्ताका सिपहरु लोप हुने स्थितिमा पुगेको छ । यसै क्रममा दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ५ र ६ का केही युवाहरु पुराना सिप संरक्षण र प्रवद्र्धन गर्न लागिपरेका छन् ।

आजभोली गाउँमा विभिन्न कामको लागि प्रयोगमा आउँने निगालो तथा बाँसका डोका,सुपो नाङ्लो, बर्षातको समयमा ओड्नको लागि बनाइने स्याकु लगायतका सामग्री बनाउने सिप बुढापाकाले नयाँ पुस्तालाई सिकाउँदै छन् । नयाँ पुस्तालाई सिप सिकाउँदै भगवतीमाई गाउँपालिका वडा नं ६ का ६१ बर्षिया मान बहादुर थापाले भने “अहिलेका युवाहरु प्रविधि सम्बन्धी नयाँ सिप सिक्दै कम्प्युटर, मोबाइल लगायतका नयाँ सिप सिक्न लागेकाले परम्परागत रुपमा संचालन हुदै आएका सिपहरुमा ध्यान पुग्दैन ।” यस्ता सिपहरुको ब्यवसायिक रुममा विकास गर्दै नयाँ पुस्तालाई सिप हस्तान्तरणको लागि आफुले तालिम दिइरहेको थापा बताउँछन ।

दैनिक सिप सिकिरहेका ३२ बर्षिय रामबहादुर थापा भन्छन् “आफ्नो गुजारा चलाउनकै लागि मौसमी बसाँइसराँई गर्दै कामकै लागि अहिले सम्म भारतमा मजदुरी गरिरहेको थिए । मेरो कमाइमा ५ जना आश्रित छन्, यस बर्ष कोरोना महामारीले भारतमा गरिरहेको मजदुरी खोसीयो, लकडाउनकै समयमा घर फर्केर ५ जनालाई कसरी गुजरा चलाउने भन्ने लागिरहेको थियो । त्यसै विचमा युवा क्लवको सहकार्यमा तालिममा सहभागी हुन पाउँदा खुसी भएको छु ।” गाउँमा पहिले डोको बुन्ने गरेको देखेको भएपनी आफुले नजानेकोले सो सीप सिक्दै गरेको बताए । आफुले सिकेको सिप ब्यवहारमा लागु गर्दै गाउँमै केही गर्ने सोच बनाएको बताउँछन थापा ।

कोरोना महामारीले थापा जस्तै धेरैको रोजगारी गुमेको संदर्भमा गाउँपालिकाको ५ र ६ नं वडामा नेपाल कोभिड-१९ आर्थिक पुर्नलाभ परियोजना २०२० अन्तरगत जिविकोपार्जन कार्यक्रम अनुसार कोरोनाबाट प्रभावित तथा वैदेशिक रोजगारबाट फर्केका ८ जनालाई एक हप्ते सीपमुलक तालिम दिईएको छ ।

यूवाहरुलाई स्वरोजगार बनाउनको लागि गाउँपालिकाको समन्वयमा कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग रहेको छ । गाउँका धेरै यूवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले निगालो, बाँसबाट तयारी सामाग्री बनाउने तालिम सन्चालन गरिएको हो ।

पछिल्लो समयमा युवाहरुले यस्ता कामहरु प्रति चासो नदेखाउनुले सिप विकास नभई सिप नै धरापमा पर्ने गरेको बेलामा गाउँका युवाहरुलाई सिप प्रति जागरुक गराई हराउँदै गएको परम्परागत सिपलाई विकास हुनुपर्ने आवश्यकता ठानि उनीहरुलाई तालिममा सहभागि गराईएको छ । युवाहरुले बनाएका सामाग्रीलाई बजारिकरणमा सम्मेत समन्वय गर्ने कारितास नेपाल अन्तर्गत एकता फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत जनक प्रसाद अधिकारीले बताए ।

कामका लागि नगद

परियोजनाले गाउँपालिकाका नागरिकलाई कामको लागि नगद दिएको छ । गाउँपालिका भित्र विभिन्न योजना बनाई युवाहरुलाई रोजगारी समेत दिएको छ ।

उनीहरुले काम गरेको दिन ५१७ रुपैयाका दरले नगद पाउने छन् । गाउँपालिका ५ र ६ वडाका ५ वटा योजनामा १२४ जनाले रोजगारी पाएका छन् ।

स्थानिय सरकारको समन्वयबाट गोरेटोबाटो मर्मत गर्न थालिएको छ । भगवतिमाई गाँउपालिका वडा न.६ मौलेसाल देखि शेरा हुदै चिपिनतडा जाने बाटोको लागि दुई लाख पच्चास हजारको बजेटमा २५ जनाले काम गरिरहेका छन् ।

वेस्तडा बजार देखि डाईनाखोला हुँदै जुम्लाकाफल सम्म गोरेटो बाटो मर्मतको लागि तिन लाख बजेटमा ३० जना, मलुका माइकाथान देखि आख्रेनी सम्म गोरेटो बाटो मर्मतको लागि दुई लाख पच्चास हजारको बजेटमा २५ जना, भगवतिमाई ६ को लक्ष्मि प्राथमिक विद्यालय खानेपानी मर्मतका लागि २२ जना र आदर्श आधारभूत विद्यालय सनिगाँउ खानेपानी मर्मतका लागि २२ जना गरी दुई लाख चालिस हजार बजेटमा ४४ जनाले रोजगार पाएका छन् । यिनीहरुले करीब २० दिन कामगर्ने छन् ।