११ बैशाख २०८१, मंगलवार

कोरोनाबाट विदेशमा थप दुई नेपालीको निधन

corona death

कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।

शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ।

सङ्घका अनुसार कोरोनाका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ , बेलायतमा ८६ र यूएइमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ । शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ती मध्ये ६० हजार ६२८ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा तीन हजार १० जनाको निधन भएको छ ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०८ भने दुई लाख ७० हजार ७७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।