११ बैशाख २०८१, मंगलवार

प्रतिबन्ध खुला गरिएपछि जेलमा रहेका नेता कार्यकर्ता भेट्न व्यस्त विप्लव

biplav 1024x624 1
फाइल फोटो

प्रतिबन्ध खुला गरिएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जेलमा रहेका आफ्ना नेता भेट्न व्यस्त छन् । शनिवार बिहान उनले हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई नख्खु जेलमै गएर भेटेका हुन् । विप्लवसँगै नेता खड्गबहादुर विश्वकर्मा र उदय चलाउने पनि नख्खु पुगेका थिए ।

त्यसअघि विप्लवले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटेका थिए ।भूमिगत रहेको विप्लव नेतृत्वको नेकपा सरकारसँग तीनबुँदे सहमति गरिएलगत्तै खुला राजनीतिमा आएको हो ।

शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा गृहमन्त्री बादल र महासचिव विप्लवले ३ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

सहमतिमा वार्ताद्वारा राजनीतिक निकास निकाल्ने, जेलमा रहेका नेता तथा कार्यकर्तालाई रिहा गरिने र प्रतिबन्ध फुकाउने उल्लेख छ ।