६ बैशाख २०८१, बिहीबार

पुलिस दुई रनले विजयी, दीपेन्द्र सिंह ऐरी प्लेयर अफ दी म्याच

APF vs bagmati

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी भएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा पुलिसले वाग्मती प्रदेश टोलीलाई पराजित गरेको हो । टस जितेर ब्याटिङ गर्दै पुलिसले निर्धारित ५० ओभरको खेलमा २५ दशमलव दुई ओभरमा सबै विकेटको क्षतिमा मात्र ७२ रन बनायो ।

त्रिहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा वाग्मतीले सवै विकेटको क्षतिमा २७ दशमलव दुई ओभरमा ७० रन बनाउन सक्यो । पुलिसका लागि मञ्जित श्रेष्ठले १५ तथा सुनिल धमला, अनिल साह र दिलीप नाथले १०-१० रन बनाउनुभयो । बलिङ तर्फ वाग्मती प्रदेशका अरियो पौडेलले चार, नन्दन यादवले तीन र सोनु देवकोटाले एक विकेट लिनुभयो ।

त्रिहत्तर रनको विजयी लक्ष्य पछ्याउने क्रममा वाग्मती प्रदेशका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले १० रन बनाउनुभयो । बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले चार, ललित राजवंशीले तीन, सागर ढकालले दुई तथा राशिद खानले एक विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच चार विकेट लिनुभएका पुलिसका दीपेन्द्र सिंह ऐरी घोषित हुनुभयो ।

मेयर कप सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई रु ५० लाख उपलब्ध गराएको छ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।