१५ चैत्र २०८०, बिहीबार

लागुऔषध सहित चार पक्राउ

drugs

बेलौरी नगरपालिका–१० पहाडी टोल नजिक क्षेत्रबाट सशस्त्र प्रहरीको सीमा इलाका गस्ती टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भुडाबाट खटिएको गस्ती टोलीले चार ग्राम ब्राउन सुगर सहित कैलाली टिकापुर नगरपालिका–३ का २५ वर्षीय सन्तोष चौधरी र कञ्चनपुरको पुर्नवास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूले चलाउँदै गरेको से३प ७५९२ नंको मोटरसाइकल, दुई थान मोबाइल र नगद रु दुई हजार १७० बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो ।

पक्राउ परेका दुवैलाई मोटरसाइकल र बरामद लागु औषध सहित आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

यसैगरी कृष्णपुर नगरपालिका–४ का दुई जनालाई इलाका प्रहरी कार्यालय गुलरियाले लागुऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीवन ऐर र कमल दौल्याल रहेका छन् । दुवै जनाको साथबाट १८६ ग्राम लागुऔषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेकालाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।