१५ चैत्र २०८०, बिहीबार

कोरोना भाइरस परीक्षण गर्ने ५० किट एकै दिनमा सकियो

coronavirus

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिनमै ५० किट सकिएको छ । सामान्य रुघाखोकी लागेका बिरामीको समेत कोरोना परीक्षण हुन थालेपछि एकै दिन बढी किट खर्च भएको हो ।

भाइरसबारे अनुसन्धान गर्ने नेपाली संस्था सेन्टर फर डाइनामिक नेपाल ‘सिएमडिएन’सँग २ सय टेस्ट किट मागेर प्रयोगशालाले परीक्षण थालेको थियो । तर, अनावश्यक परीक्षणमा पनि किट प्रयोग भएको छ । सोमबार मात्रै सयभन्दा बढी बिरामी कोरोना परीक्षण गर्न टेकु अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका थिए । निजी अस्पतालबाट चिकित्सकहरूले रुघाखोकी लागेकै आधारमा बिरामीलाई कोरोना परीक्षणका लागि भन्दै टेकु पठाउन थालेका छन् ।

यो अवस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जथाभावी परीक्षण रोक्न नियम नै बनाउन थालेको छ । महाशाखा निर्देशक डा. विवेककुमार लालले कस्तो अवस्थामा मात्रै कोरोना परीक्षण गर्ने भन्ने विषयमा प्रोटोकल तयार भइरहेको बताए । चीनबाट आएका सबै बिरामीको कोरोना भाइरस परीक्षण गर्ने वा बुहान सहरबाट आएकाहरूको मात्रै गर्ने भन्नेमा चिकित्सकहरू निर्णयमा पुगेका छैनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले अनावश्यक परीक्षणमा महत्वपूर्ण किटको प्रयोग रोकिने बताइन् । ‘नमुना परीक्षण गर्ने बिरामी चीनबाटै फर्किएको आधिकारिकता देखिने गरी ‘ट्राभल हिस्ट्री’ भए मात्रै हामी नमुना लिन्छौँ,’ झाले भनिन्, ‘मौसमी रुघाखोकी, इन्फ्लुएन्जा र कोरोनाको लक्षण एउटै हुने भएकाले लक्षण देखिने सबैको परीक्षण गर्न आवश्यक छैन ।’ उनले अहिले जथाभावी परीक्षण गरे आवश्यक व्यक्तिको परीक्षणमा किट अभाव हुन सक्ने बताइन् । किट अभाव हुन नदिन तत्काल खरिद प्रक्रिया अघि बढाइने पनि उनको भनाइ छ ।

कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन बिरामीमध्ये दुईजनाको सोमबार नमुना परीक्षण भएको छ । उनीहरूमा कोरोना भाइरस नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ । हङकङबाट आएका २८ वर्षीय पुरुष र अमेरिकाबाट चीन हुँदै नेपाल आएका अर्का पुरुषलाई अस्पतालले सोमबार नै डिस्चार्ज दिएको छ । चीनबाट आएकी एक महिलाको भने मंगलबार नमुना परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

भाइरस परीक्षण गर्ने नेपाली संस्था ‘सिएमडिएन’ले स्वास्थ्यकर्मीको सुरक्षाका लागि ५० जोर ‘फिजिकल प्रोटेक्टिभ इक्विपमेन्ट’ सहयोग गरेको छ । प्रयोगशालाले तोकेका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई नमुना संकलन व्यवस्थापन तालिमसमेत दिएको छ । कोरोना भाइरस परीक्षणमा नेपाल सरकारलाई सहयोग गर्न ‘सिएमडिएन’ले आफ्ना कर्मचारीसमेत खटाएको छ । ~ नयाँ पत्रिका