२६ बैशाख २०८१, बुधबार

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने

1611825170nepal corona vaccine

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिनुभयो । उहाँले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गर्नुभयो ।

यसैगरी बुधबार सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलगायतले पनि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनुभएको छ ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो । सो अवसरमा खोप नेपालको कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो ।

सोमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनालाई खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने छ ।