१३ बैशाख २०८१, बिहीबार

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको सवारी मोह, सेतो प्लेट कार्यालयलाई रातो घरायसी प्रयोग

ktmmmm prasaasakiyaa 1024x379 1

काठमाडौं महानगरपालिकाले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग गरेको भेटिएको छ । महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली लगायतले घरायसी प्रयोजनका लागि सरकारी गाडीको प्रयोग गरिरहेका छन् ।

कोरोना महामारीको बीचमा आवश्यक नै नभए पनि पाँच महिना अघि महानगरपालिकाले ६० लाख रुपैयाँमा नयाँ गाडी किनेको थियो । जसमा रातो नम्बर प्लेट छ । प्रदेश ३–०१–०२३ च ३७२३ नम्बरको सो गाडी प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली लगायतले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका छन् ।

चार वर्षअघिदेखि काठमाडौं महानगरका प्रशासकीय अधिकृतले बा.२झ १५६४ नम्बरको सेतो प्लेटको गाडी चढ्ने गरेका छन् । ‘अहिलेसम्म कोही पनि प्रमुख प्रशासकीय अधिकृतले दुईवटा गाडी प्रयोग गरेका थिएनन् । तर, उहाँले बिदाको दिन प्रयोग गर्ने गर्नुभएको छ । दसैँको वेला पनि उहाँ त्यही गाडी लिएर घर जानुभएको थियो,’ महानगरका एक कर्मचारीले भने । कोरोना महामारी सुरु भएपछि गाडी खरिद नगर्ने निर्णय सरकारले गरे पनि त्यस विपरीत महानगरपालिकाले खरिद गरेको थियो ।

महानगरका एक कर्मचारीका अनुसार प्रजातन्त्र दिवसका दिन पनि ज्ञवाली उक्त रातो प्लेट गाडीमै राष्ट्रिय सभागृह पुगेका थिए । जहाँ पार्क गरेर उनी र मेयर विद्यासुन्दर शाक्य काभ्रेको एक कार्यक्रममा पुगेका थिए ।

निजी प्रयोजनका लागि प्रयोग गरिने गाडीमा लाग्ने इन्धन पनि महानगरले नै व्यहोर्दै आएको छ । नियमानुसार महानगरका सहसचिवस्तरका कर्मचारीलाई (कार्यकारी प्रमुख) ८० लिटर इन्धन दिने गरिएको छ । तर, त्यसबाहेक विभिन्न आयोग र महानगरअन्तर्गतकै विभिन्न आयोजनाले पनि तेल दिने गरेका छन् ।

घरायसी प्रयोजनकै लागि गाडीमा रातो नम्बर प्लेट

प्रमुख प्रशासकीय अधिकृत नहुँदै ज्ञवालीले केही महिनाअघि महानगर प्रमुख शाक्यलाई अनुरोध गरी ६० लाख रुपैयाँमा गाडी खरिद गर्न लगाएको स्रोतले बतायो । रातो नम्बर प्लेटको गाडी ज्ञवालीको घरमै राखिने गरिएको छ भने बिदाको दिन र अन्य व्यक्तिगत प्रयोजनका निम्ति प्रयोग गर्दै आएको कर्मचारीहरू बताउँछन् । कहिलेकाहीँ अन्य कर्मचारीले पनि सो गाडी व्यक्तिगत काममा प्रयोग गर्दै आएका छन् । घरायसी प्रयोजनकै लागि गाडीमा रातो नम्बर प्लेट राखिएको स्रोत बताउँछ ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली भने आफूले प्रमुख प्रशासकीयको पद नसम्हाल्दा सम्म मात्र उक्त गाडी प्रयोग गरेको बताउँछन् । ‘पहिलेका कार्यकारीले चढ्नुभएको गाडी हुँदाहुँदै मलाई अर्को गाडीको आवश्यकता नै छैन । मैले सेतो नम्बर प्लेटको मात्र प्रयोग गरेको हो,’ उनले भने, ‘कात्तिकसम्म मात्र मैले रातो नम्बर प्लेटको प्रयोग गरेँ । त्यो गाडी न त मैले प्रयोग गरेको छु, न त कतै लगेर पार्क नै गरेको छु । अहिले महालेखापरीक्षकको अडिटरले प्रयोग गर्दैै हुनुहुन्छ ।’ बिदाको दिन आवश्यक परे सेतो नम्बर प्लेटको गाडीलाई नै पास लिएर आफूले प्रयोग गर्ने गरेको उनले बताए । नयाँ पत्रिका