१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीका पक्षमा ९२ सांसद, फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा: महेश बस्नेत

Mahesh Basnet

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गर्नुभएको छ ।

एक कार्यक्रममा उहाँले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाउनुभयो । पूर्वमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहलाई सुझाव दिनुभयो

सर्वोच्चकाे फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा

कार्यक्रममा बोल्दै बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा परेको जिकिर गर्नुभएको छ ।

सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न चाहने प्रचण्ड-माधव पक्ष नै संकटमा परेको जिकिर गर्नुभएको हो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होइन, उहाँलाई पदच्यूत गर्न चाहने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई परेको म देख्छु,’ उहाँले भन्नु भयो, ‘किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति छ । अब भोलिका दिनमा परिस्थिति उहाँहरुको निमित्त झन् असहजतातर्फ गइरहेको छ ।’

नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतीपूर्ण हुने दाबी गरे । फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सीमित हुने पनि उहाँको दाबी छ ।