१२ बैशाख २०८१, बुधबार

हरियाली जोगाउन वैज्ञानिक वन खारेज : वनमन्त्री आले

prem aale

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले हरियाली वन जोगाउनका लागि वैज्ञानिक वन खारेज गरिएको बताउनुभएको छ ।

‘वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासङ्घले काठमाडौँमा आयोजना गरेको आठौँ राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सो कुरा बताउनुभएको हो ।

वैज्ञानिक वनको अवधारणा राम्रो भए पनि केही कुतत्वले वन विनाश गर्नकै लागि जथाभावी वन फँडानी गर्ने गरेकाले वन फँडानी रोक्नका लागि आफूले सो कदम चालेको उहाँको दाबी थियो । “हरियाली वन सखाप गर्नेका विरुद्ध उत्रिएको छु सबैको साथ र सहयोगको अपेक्षासमेत गरेको छु”, मन्त्री आलेले भन्नुभयो ।

वैज्ञानिक वन खारेज नगर्नका लागि विभिन्न क्षेत्रबाट केही प्रलोभन आए पनि आफूले ती प्रलोभनलाई लत्याउँदै भावी सन्ततिका लागि भए पनि फँडानी हुन लागेको वन जोगाउन सफल भएको बताउनुभयो । उहाँले वैज्ञानिक वन कार्यक्रमका नाममा मुलुकका विभिन्न स्थानमा वन फँडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै बदनाम पार्ने काम भएकाले त्यसलाई नियन्त्रण गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि विसं २०७१ खारेज गरिसकेको छ । गएको माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । वैज्ञानिक वन खारेज भएपछि अब दिगो वन व्यवस्थापन लागू गरिनेसमेत मन्त्री आलेले जानकारी गराउनुभयो ।

आफू सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर देशका विभिन्न स्थानको अवलोकन गर्दा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर लगायत क्षेत्रमा वैज्ञानिक वन कार्यक्रमका नाममा चुरेको दोहन भएको पाइएपछि आफूहरुले सो कार्यक्रम नै खारेज गर्नुपर्ने र दोषीलाई कारवाही गर्न सिफारिस गरेको समेत उहाँले जानकारी दिनुभयो ।

मन्त्री आलेले पशुपति आर्यघाटमा दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था मिलाउन लागेको समेत जानकारी दिनुभयो । पशुपति आर्यघाटमा दाहसंस्कार गर्नका निम्ति निःशुल्क दाउराको व्यवस्थापनका लागि वन मन्त्रालयले गृहकार्य अगाडि बढाएको बताउनुभयो ।