३ जेष्ठ २०८१, बिहीबार

भूकम्पपीडितको ६ लाख उठाएर पुनर्निर्माण प्राविधिक फरार

nepali rupees

निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिक नै भूकम्पपीडितको ६ लाख उठाएर फरार भएका छन् ।

शैलुङ गाउँपालिकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका सबइन्जिनियर सन्तोष स्नेही सेनले घर बनाइदिन्छु भन्दै पीडितलाई ठगेका हुन् ।

शैलुङ–५ को काटाकुटी खत्रीटोलका तीन घरको ६ लाख असुलेर फरार भएको पीडितहरूले बताएका छन् । आफू, रामबहादुर खत्री र नारायण खत्रीलाई घर बनाइदिन्छु भन्दै पहिलो र दोस्रो किस्ताको दुई–दुई लाख लिएर फरार भएको पीडित सुन्दर खत्रीले बताए ।

‘हामी कामको सिलसिलामा काठमाडौं बस्थ्यौँ, सबइन्जिनियर आफैँले घर बनाइदिने भनेपछि ढुक्क भएर रकम बुझायौँ । तर, रकम जम्मा गरेर उनी फरार भए,’ सुन्दरले भने । स्नेहीले रामबहादुर र सुन्दरको घरको जग हालेर केही गाह्रो लगाए पनि नारायणको घर भने डिपिसीसम्म उठाएका थिए ।

‘घर ठेक्का दिएदेखि पटक–पटक ताकेता गर्‍यौँ, बल्लतल्ल डिपिसी लेभलसम्म मात्रै उठाएर पैसा लिएर फरार भए,’ नारायणले भने । आफूहरूले प्राधिकरणमातहतको कार्यालयमा घटनाबारे जानकारी गराइसकेको र केही दिनमै प्रशासनमा उजुरी दिने पीडितहरूले बताएका छन् । स्नेही चैनपुर–१, बझाङका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको भवन कार्यालयले भने सबइन्जिनियर स्नेही लामो समयदेखि सम्पर्कमा नरहेको र स्पष्टीकरणको जवाफ पनि नआएको भन्दै कारबाही लागि सिफारिस गरेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी अनन्त पौडेलले स्नेहीलाई कारबाहीका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा सिफारिस पठाएको बताए । प्राधिकरणकै अनुदान वितरण कार्यालय दोलखाका प्रमुख गणेश अर्यालले प्राविधिक व्यवस्थापन गर्ने जिम्मेवारी भवन कार्यालयको रहेको बताउँदै लाभग्राहीको पैसा ठग्नु दुःखद भएको बताए ।

शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल भन्छन्–बदमासी गर्‍यो भनेर सरुवा गरेको, फरार भयो ।

सबइन्जिनियरले कर्तव्यभन्दा बाहिर गएर काम गरेको रिपोर्ट आएपछि वडा नम्बर १ को दुधपोखरी गाउँमा सरुवा गरिदिएँ । लामो समयदेखि ती प्राविधिक गाउँपालिकाको सम्पर्कमा आएका छैनन् । न्यायिक निकायहरूसँग सहकार्य गरेर पीडितलाई क्षतिपूर्ति दिलाउन र उसलाई कारबाही गर्न गाउँपालिका लागिपर्छ । ~ नयाँ पत्रिका