१४ बैशाख २०८१, शुक्रबार

सभामुख र अस्ट्रेलियाका राजदूतबीच भेट

agni sapkota au ambassdor

सभामुख अग्निप्रसाद सापकोटासँग हालै नेपालमा जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कबीच आज शिष्टाचार भेट भएको छ ।

सिंहदरबार स्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच छ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको बताउँदै अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले अस्ट्रेलियाको १२० वर्ष लामो सङ्घीयता सम्बन्धी असल अभ्यास नेपालका लागि सिकाइ हुन सक्ने बताउनुभयो । सङ्घीय संसद्मा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको स्मरण गर्नुहुँदै सभामुख सापकोटाले कोभिड नियन्त्रण पछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद्–संसद्बीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास गर्नुभयो ।

नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अस्ट्रेलियामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उहाँले यो अवसरका लागि अष्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । राजदूतले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवद्र्धन र सङ्घीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो देशमा सङ्घीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताउनुभयो । उहाँले आफू २० वर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुशी लागेको बताउनुभयो ।