
सप्तरी, श्रोत नखुलेको १० लाख रुँपैयासहित दुई महिला पक्राउ परेको एक साता नबित्दै सोमबार थप एक महिला श्रोत नखुलेको तीन लाख रुँपैयासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिया गितादेवी महतो छिन् । बिहान ११ बजेतिर भारतबाट नेपाल आउँदै गरेकी महतोमाथी शंका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी सहायत्र निरिक्षक रामनारायण महतोको नेतृत्वमा महिला प्रहरीसहित खटिएको टोलीले चेकजाच गर्दा श्रोत नखुलेको तीन लाख रुँपैया बरामद गरेको हो । प्रहरीका अनुसार उनले भित्री बस्त्रमा तीन लाख रुँपैया लुकाएकी थिइन् ।
सीमावर्ती भारतीय कुनौली बजारबाट पैदलै आउँदै गरेको अवस्थामा तिलाठी कोइलाडी गाउँपालिका १ स्थित खाडो खोला क्षेत्रबाट पक्राउ परेकी महतोलाई आवश्यक कारवाहीका लागि सोमबारै बेल्हीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले बताए । यसअघि फागुन ११ गते पनि सोही क्षेत्रबाट श्रोत नखुलेको १० लाख रुँपैयासहित सोही गाउँपालिकाकी ३८ वर्षिया कबिता दास र २२ वर्षिया रिंकु दास पक्राउ परेकी थिइन् । प्रहरीले उनीहरु हुन्डी कारोबार संचालन गर्ने गिरोहमा संलग्न भएको आशंका गरेको छ ।
सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले भने, हुन्डि कारोबारमा संलग्न भएको आंशका छ, यद्दपी यस बारेमा नेपाल प्रहरीको समन्वयमा थप अनुसन्धान हुन्छ । महिलालाई चेकजाचमा कडाई नहुने सोचाईका साथ हुन्डि कारोबार संचालन गर्ने गिरोह तथा तस्करहरु अहिले अवैध कारोबारमा महिलाको प्रयोग बढी गर्न थालेको जानकारहरु बताउँछन ।