fbpx
६ बैशाख २०७८, सोमबार

बाल विवाह अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

सांकेतिक तस्विर

किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उम्मेर भन्दा कम उमेरकी किशोरीको विवाह भएको पाइएपछि बाल विवाह सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

उहाँले नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाह सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताउनुभयो ।

मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।

मुलुकी अपराध संहितामा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः रद्द हुने र त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म् जरिवाना हुने कानूनी व्यवस्था छ ।