१४ बैशाख २०८१, शुक्रबार

दैलेखमा खोप स्टक, देखिएन कोरोना बिरुद्धको खोपमा उत्साह

covishield vaccine

कोरोना बिरुद्धको खोप प्रति दैलेखी नागरिकको उत्साह अझै देखिएको छैन् । कोरोना खोप लगाउनेको संख्या बृद्धि नहुदाँ दैलेख जिल्लाका नागरिकमा कोरोना बिरुद्धको खोप प्रति अझैपनि उत्साह नदेखिएको हो ।

गत चैत्र ११ गते देखि कोरोना महामारी नियन्त्रण गर्न नेपाल सरकारले देश नै लकडाउन गर्नु पर्‍यो, देश लकडाउ हुँदा सबै नागरिकहरु घर भित्रै बस्न बाध्य भए । दैलेखमा पहिलो पटक जेष्ठ ५ गते दैलेखको पश्चिमबाट कोरोना भित्रिएको खबर आउँदा नागरिकहरु त्रसितमात्र होइन निकैनै आत्तिएका थिए ।

गत बैशाख जेठमा हजारौँको संख्यामा देखिने कोरोना संक्रमितको संख्या दैलेखमा हाल शुन्यमा झरेको छ । रेड जोनमा रहेको जिल्ला कोरोना संक्रिमितको संख्या घट्दै गएर करीब ९ महिना पछि कोरोना संक्रमित मुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोना बिरुद्धको खोप लगाउने कार्य धमाधम चलिरहेको छ । पहिलो चरणमा संचालन गरेको खोप १४ सय ८३ जनाले लगाएका छन भने दोस्रो चरणको खोप १७ सय १ जना गरी ३१ सय ८४ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीर प्रसाद रेग्मीले पहिलो चरण र दोस्रो चरण गरी १० गते सम्म ३१ सय ८४ जनाले कोरोना बिरुद्धको कोभिशिल्ड खोप लगाएको बताए । उनले पहिलो चरणमा दैलेखमा चार हजार ८ सय (भाइल) डोज जिल्लामा उपलब्ध भएको भए पनि अहिले सम्म ३१ सय ८४ जनाले लगाउनु भनेको कमै मात्रामा खोप लगाइएको बताए । उनका अनुसार अहिले नेपाल सरकारले खोप लगाउन केही समय बन्द गरेकोले खोप नलगाएको भए पनि अझै २ हजार जनालाई खोप लगाउनको लागि जिल्लामा खोप स्टक रहेको छ ।

सरकारले कोरोना पहिलो चरण कोरोना बिरुद्धको अग्रपंतिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई प्रथामिकता दिएर कोरोना बिरुद्धको खोप सुरु गरेपनि केही स्वास्थ्यकर्मीले खोप नलगाएको पाइएको छ । दोस्रो चरणमा स्वास्थ्यकर्मी, जनप्रतिनिधी, सुरक्षाकर्मी, पत्रकारले समते जिल्लामा खोप लगाएका छन् । दैलेखमा कोरोना खोप लगाएका कुनै व्यक्तिहरुमा समस्या नदेखिएकोले ढुक्क भएर खोप लगाउन खोप अधिकृत थीर प्रसाद रेग्मीले आग्रह गरेका छन् । रेग्मीका अनुसार अधिकांशलाई सामान्य ज्वरो आउने बाहेक अन्य लक्षण देखिएको छैन । यसको तात्पर्य सत प्रतिशत खोपले राम्रो काम गरेको हो ।

धेरै नागरिक कोरोना बिरुद्धको खोपले केही असर गर्छ की भन्ने मानसिकताका कारण जिल्लामा खोप लगाउनेको संख्या कमी भएको छ । रेग्मीका अनुसार कोरोना बिरुद्धको खोप र त्यसले गर्ने असर र लगाउन नहुने व्यक्तिहरुका लागि विभिन्न संचार माध्ययमबाट सुचना प्रसारण समेत गरिएको छ । जिल्लाका ११ स्थानीय तहमा पुगेर पहिलो चरणको खोप लगाए पनि दोस्रो चरणमा दुल्लु अस्पताल र स्वास्थ्य सेवा कार्यालय दैलेखमा र स्थानिय तहमा सिविरको रुपमा कोरोनाको खोप लगाइएको छ ।

जिल्लामा रहेका बाणिज्य तथा बित्तिय सस्थामा रहेको कर्मचारीलाई समेत कोरोना खोप लगाउन पत्राचार गरेपनि कतिपयले अहिलेसम्म पनि खोप नलगाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए अनुसार जिल्लामा हुने दैनिक राजनैतिक दलका कार्याक्रमले जिल्लामा रहेका सुरक्षाकर्मीलाई कोरोनाको खोप कार्यक्रम प्रभावित भएको थियो तर परिस्थीती केही सहज भएपछी खोप लगाईएको छ।

कतिपय नागरिकहरु कोरोना खोपले अहिले नै नकरात्मक प्रभाव पार्ने बारेमा थाहा पाउन नसकिने हुँदा आफुहरुले खोप नलगाएको बताउने गरेका छन् । उनिहरुको यो भनाईले बुझिन्छ की अझै पनि उनिहरु खोप प्रति ढुक्क छैनन् ।