१६ चैत्र २०८०, शुक्रबार

आयल निगमको थानकोट डिपोमा अब रहेन सुरक्षा चुनौती

Kalanki 3

नेपाल आयल निगमको थानकोट डिपोमा ट्यांकर व्यवस्थापन, पार्किङलगायत पूर्वाधारका क्षेत्रमा तीव्ररुपमा सुधार भइरहेको छ ।

विगतमा मुख्य सडकबाट डिपोमा छिर्ने सडकभरी ट्यांकरको अव्यवस्थित पार्किङ र डिपोमा जाने बाटो धुलाम्मे हुने हुँदा स्थानीयवासीसमेत डिपोका कारण प्रभावित बनेका थिए । अहिले स्थिति फेरिएको छ । एक वर्ष अघि सो डिपोको प्रमुख भएका प्रदीपकुमार यादवका अनुसार यहाँ अहिले वरिपरी पक्की पर्खाल बनाइएर सुरक्षा चुनौतीको खतरा हुने स्थितिको अन्त्य गराइएको छ । दैनिक करिब छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलको सप्लाइ हुने यस डिपोलाई सामान्य तारबारले घेरिँदा असुरक्षा हुँदै आएकामा अहिले व्यवस्थित तुल्याइएको छ ।

नेपाल–भारत पेट्रोलियम पाइप विस्तारका समयमा अमलेखगञ्ज डिपोका प्रमुख भई परियोजना सफल बनाउन भूमिका निर्वाह गरेका यादव थानकोटको जिम्मेवारीमा आएपछि सुधारका कामले गति लिएकोे निगमले जनाएको छ ।

हाल निगमको स्वामित्वमा डिपोमा रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर तीन सय ट्यांकर अट्नसक्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित शौचालय र बाथरुमको व्यवस्था गरिएको छ, यसले गर्दा अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ ।
तेलको आपूर्तिमा भइरहको ढिलाइ अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर बनाइएको डिपो प्रमुख यादवले बताउनुभयो ।

विसं. २०५५ सालमा निर्माण भएको सो डिपो २०५७ सालदेखि सञ्चालनमा आएको हो । डिपोमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ । नौ वटा भर्टिकल ट्यांकी र पाँच वटा अन्डरग्राउन्ड ट्यांकीमा सो परिमाणमा भण्डारण क्षमता भएको हो । त्यसमध्ये यो डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेलको खपत हुन्छ ।