७ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो : बिजुक्छे

naraynamanas bidukshe

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिनुभएको छ ।

बागीश्वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उहाँले संसद् पुनःस्थापनाले सत्ताको चलखेल शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् पुनःस्थापनाले शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ । यसले शासक दलबीच सत्ताको चलखेलसमेत शुरु भएको छ ।”।

अध्यक्ष बिजुक्छेले शिक्षा र राजनीति एकापसमा सम्बन्धित विषय भएकाले शिक्षकले पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षकले राजनीति गर्न हुँदैन भन्ने ठम्याइ गलत भएको दावी गर्दै उहाँले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले आफ्नो अनुभव सँगालेर नयाँ पुस्ताका लागि पठनीय पुस्तक प्रकाशन गर्नेतर्फ अवकाश प्राप्त शिक्षकको ध्यानाकर्षण गराउँदै भक्तपुरमा रात्रि कक्षाबाट शुरु भएको महिला शिक्षाले हाल शैक्षिक क्षेत्रमा महिलाको अग्रसरता र उपलब्धि नै प्रशंसनीय रहेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष बिजुक्छेले बागीश्वरी माविमा लामो समयको अध्यापनपश्चात् अवकाश भएका विद्यालयका पूर्वसहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक शोभा प्रधान, शोभना शाक्य र रामप्रसाद सुवाललाई सम्मान पत्रद्वारा सम्मान गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र नेपाल मजदूर किसान पार्टीको एक घर एक स्नातकको अवधारणा पूरा गर्न भक्तपुर नपाबाट सञ्चालित कलेजले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै सभ्य र सुसंस्कृत समाज निर्माणमा स्थापनाकालदेखि भक्तपुर नगरपालिका प्रयासरत रहेको स्पष्ट पार्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका–९ का अध्यक्ष रवीन्द्र ज्याख्वले समाजको उन्नति र प्रगतिका लागि बागीश्वरी माविले स्थानीयवासीको अपनत्व र निरन्तर सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

बागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले अवकाश प्राप्त शिक्षकको संक्षिप्त परिचय र विद्यालयको शैक्षिक उन्नतिमा पु¥याएको योगदानबारे चर्चा गर्नुभयो । विद्यालयका पूर्वशिक्षक शोभा प्रधानले विद्यालयका प्रधानाध्यापक धन्छालाई विद्यालयको स्वास्थ्य कोषका लागि रु दुई लाखको चेक हस्तान्तरण गर्नुभएको थियो भने सो कोषका लागि पूर्वशिक्षक ज्ञानसागर प्रजापति र रामप्रसाद सुवालले पनि प्रतिव्यक्ति रु एक लाख सहयोगको घोषणा गर्नुभयो ।