७ बैशाख २०८१, शुक्रबार

‘नेपाली आरोही भरिया मात्र होइनन्’

RS KTM 20210224 e scaled 1

विश्वकै अग्लोमध्येको दोस्रो केटु हिमाल आरोहण दलका टोली नेता निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएको बताउनुभएको छ । सेनाको मुख्यालय जङ्गीअड्डामा सम्मान ग्रहण गर्दै उहाँले हिमाल आरोहण गर्दाको अनुभव सुनाउनुभएको थियो ।

आफूले ३० वर्षको उमेरमा हिमाल आरोहण आरम्भ गरेको उल्लेख गर्दै पुनमगरले सामूहिक भावनाका कारण कठिन आरोहण सम्भव भएको बताउनुभयो । आफूहरु तीन वटा समूहमा गए पनि अन्तिममा सामूहिकरुपमा योजना बनाएर केटु हिमाल आरोहण गरेको उहाँको भनाइ छ । ब्रिटिश गोर्खा सेनामा १६ वर्ष जागीर गरी छाडेर हिमाल आरोहणको यात्रा थालेको पुनमगरले सुनाउनुभयो ।

नेपालीले सधैँभरि हिमाल आरोहीको भरिया बन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको आफूहरुले प्रमाणित गरेर देखाएको बताउनुभयो । “विदेशी आरोहीले नेपाली भरिया मात्र हुन भनेर होच्याउने गरेका छन्, त्यो हामीलाई सह्य छैन”, पुनमगरले भन्नुभयो । उहाँले विश्वकै अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमानसमेत बनाउनुभएको छ ।

“मैले हिमाल चढ्न घर बिक्री गरे, कतिपयले यो त बहुला रहेछ भने”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “म आफ्नो लक्ष्यमा निरन्तर लागिरहे, आज सफलता मिलेको छ ।” माइनस ६५ डिग्री सेन्टिग्रेटको तापक्रममा ३५ किलोग्राम भारी बोक्दै केटु हिमाल आरोहण गरेको उहाँले सुनाउनुभयो । “लक्ष्य हिमाल आरोहण गरेरै छाड्ने थियो, इतिहास बनाउनबाट वञ्चित हुने मन थिएन, विश्वभर नेपालीको नाम उँचो राख्न सफल भयौँ”, उहाँले भन्नुभयो ।

सो अवसरमा प्रधानसेनापति थापाले केटु हिमाल आरोहण दलका नेता पुनमगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

कार्यक्रममा उहाँले नेपाली सेनाले विपद् व्यवस्थापन र खोज तथा अनुसन्धानमा योगदान दिँदै आएको उल्लेख गर्नुभयो । नेपाली सेनाले आगामी चैत ३१ देखि जेठ २२ गतेसम्म विश्वको अग्लो हिमाल सगरमाथालगायत छ हिमालको झण्डै ३५ टन फोहर सङ्कलन गरिने सो अवसरमा जानकारी दिइयो । सम्मान कार्यक्रममा नेपाली सेनाको उच्च पदस्थ अधिकृतको उपस्थिति थियो ।

    सम्बन्धित समाचार...