१३ बैशाख २०८१, बिहीबार

मुसहर समुदायका बालबालिका शिक्षामा आकर्सित

mushar
फाइल फोटो

हरेक दृष्टिकोणले अति पिछडिएको हरवा चरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनकरूपमा बढ्दै गएको पाइएको छ ।

हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टी, वडा नं ३ डङगराही र ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् । सो नगरपालिकाका हरवाचरवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीर्पुराज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल कक्षा सञ्चालन गरेपछि विद्यालय जाने बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।

विगत दुई वर्षदेखि ती वडाहरूबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या जम्मा १२ थियो तर सो संस्थाले द फ्रिडम फन्डको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तिकरण कार्यक्रम’ अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या १४० भन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदा बताउनुहुन्छ ।

पहिला पहिला हरवाचरवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकूदमै दिन बिताउने गरेका थिए तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन् । अर्जुनले भन्नुभयो, “केही वर्षअघिसम्म विद्यालयहरूमा हरवाचरवा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ ।”

केही वर्षअघि सम्म हरवाचरवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला एक त हरवाचरवा परिवारका बालबालिका विद्यालय जान रुचाइरहेका थिएन भने अभिभावकहरू पनि विद्यार्थीलाई विद्यालय पठाउन चाहिरहेको थिएन । मोहनपुरका अरहुलिया सदाले भन्नुभयो, “हाल मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् । अभिभावकहरूमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ । कुनै बेला आफूलाई पढ्न रहर हँुदाहुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्ँिझदै अरहुलियाले थप्नुभयो, “अहिले त्यस्तो अवस्था विस्तारै हट्दै गएको छ ।” हरवाचरवा मुसहर परिवारका अभिभावकहरू पनि जिम्मेवार बन्दै गएको उहाँ सुनाउनुहुन्छ ।

हरवाचरवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिका–२, ३ र ५ मा सञ्चालन गरेको निःशुल्क बाल शिक्षा कार्यक्रममा अहिले हरवाचरवा र मुसहर समुदायका १४० जनाभन्दा बढी बालबालिका नियमितरूपमा अध्ययन गर्नका लागि आउने गरेको श्रीर्पुराज सामुदायिक केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताउनुभयो । तीमध्ये १०५ जना बालबालिकालाई विभिन्न विद्यालयको पहँुचमा पु¥याई सकिएको उहाँको भनाइ छ । विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाका तर्फबाट शैक्षिक सामग्री र स्कूल ब्यागसमेत निःशुल्क उपलब्ध गराएको छ ।

विद्यालयबाहिर रहेका बालबालिकाका लागि हाल तीनजना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौमहिने बाल शिक्षा प्रदान गरिरहेको र क्रमिकरूपमा विद्यालय भर्ना गराउँदै लगेको श्रीपुर्रा सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीको कथन छ ।

प्रारम्भिक बाल शिक्षाबाट राम्रो गर्दै गएका १०५ जना हरवाचरवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराई सकिएको छ । बाँकी रहेकाहरूलाई पनि क्रमशः पायक पर्ने विद्यालयहरूमा भर्ना गराउने तयारी छ । “गरिबी र अभावबाट गुज्रिरहेका हरवाचरवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको नाकमुख देख्न पाएका छैन”, उहाँले भन्नुभयो, “त्यस्तालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न सक्दो पहल गरिरहेका छौँ ।”

शैक्षिकरूपमा जर्जर रहेको हरवाचरवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउने क्रम बढेको भन्दै यस्तो अभियानलाई अझ निरन्तरता दिनुपर्ने शम्भुनाथ नगरपालिका–३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाईं पासवानले बताउनुभयो ।

पर्यटक भित्र्याउन अभियान सञ्चालन

कोभिड–१९ का कारण चहल पहल घटेका प्रदेश नं २ का पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सरोकारवालाहरूले अभियान शुरु गरेका छन् । प्रदेश नं २ सरकारको समन्वयमा प्रदेशका होटेल व्यवसायीसँगै सरोकारवालाहरूले आन्तरिक पर्यटन पुनरोत्थान समिति बनाएर अभियान शुरु गरेका हुन् ।

अभियानअन्तर्गत समितिले प्रदेशभरिका प्रमुख पर्यटकीय क्षेत्रहरूका वृत्तचित्र तयार गरी प्रचारप्रसारसँगै पर्यटकलाई आकर्षित गर्ने अन्य गतिविधिहरू सञ्चालन गरिने समितिका सदस्य शैलेश चौधरीले जानकारी दिनुभयो ।

कोभिड–१९ र लकडाउनका कारण ओझेलमा परेका प्रदेशको आठवटै जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरूलाई लिपिबद्ध गर्न एकीकृत दस्ताबेज तयारी गरिरहेको छ ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रदेश २ मा व्यापक पर्यटकीय क्षेत्रहरु रहे पनि एकीकृत दस्ताबेज नहुँदा प्रदेश नं २ कै एक जिल्लाको पर्यटकीयस्थलबारे अर्काे जिल्लावासीलाई थाहा नभएकाले एकीकृत दस्ताबेज तयार गर्न लागेको जनाएको छ ।

प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्रहरू छन्, तर वास्तविक सङ्ख्या नहुँदा त्यस्ता पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रहरू समेत ओझेलमा परेको छ ।

पर्यटकलाई लोभ्याउन सकिने व्यापक पर्यटकीय क्षेत्रहरू रहे पनि एकीकृत दस्ताबेज र प्रचारप्रसारको अभावमा पर्यटकहरू भित्र्याउन नसकिएको कुरालाई मनन गरी अभियान सञ्चालन गरिएको चौधरीको भनाइ छ ।