fbpx
१९ फाल्गुन २०७७, बुधबार

धमेन्द्र बाँस्तोलालाई रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश

फाइल फोटो

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्र विक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यस अघि पनि बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनु”, आदेशमा भनिएको छ ।

यस अघि गत माघ १५ गते र २२ गते थुनामुक्त गराउन अदालतले आदेश जारी गरेको थियो तर अदालतको आदेशलगत्तै नेता बाँस्तोला पक्राउ पर्नुभएको थियो । चन्द समूहका पश्चिम कमाण्ड इन्चार्ज रहनु भएका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोला माथि नक्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप छ ।