१४ बैशाख २०८१, शुक्रबार

बाँस बिक्रीबाट मनग्य आम्दानी

bas

लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आउनुभएका जुगल मण्डलले सो कुराको पुष्टि गर्नुभएको छ । उहाँले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताउनुभयो ।

बाँसको आवश्यकता जन्मदेखि मृत्युसम्म हुने गर्दछ । घरायसी कार्यका लागि बाँस नभई नहुने भएकाले यसको बजार विस्तृत रहेको छ । घर निर्माण, पूजापाठ, मृत्यु वा घरयासी कामका लागिसमेत बाँसबाट बनेका धेरै प्रकारका सामग्री आवश्यक पर्ने गरेको छ । त्यसैले यसको बिक्री ज्यादै हुने गरेको बाँस व्यापारीको भनाइ छ ।

बाँसबाट बनेका सामग्री नाङ्लो, घरेलु सामान राख्ने ढकी, जुत्ता राख्ने ¥याक, तराईको ठूलो चाँड छठमा आवश्यकपर्ने कुनियालगायतका सामग्री निर्माण गर्ने गरिन्छ । अहिले विभिन्न नगर क्षेत्रका रेष्टुरेण्ट, होटलमा ग्राहकलाई नयाँ सजावट देखाउन र आकर्षणका लागि कटेज र बस्ने स्थानको निर्माण हुनाले यसको बिक्रीमा आधुनिकता वृद्धि बढेको देखिन्छ । अहिले पनि ग्रामीण क्षेत्र तथा शहरमा सुत्नका लागि बाँसको खाटसमेत बनाइएको देखिन्छ ।

बाँस खरीद गर्न आफू सुनसरीको देवानगञ्ज, हरिनगरा र भुटहाको ग्रामीण क्षेत्रमा जाने गरेको मण्डलले जानकारी दिनुभयो । विगतको तुलनामा अहिले बाँस गाउँतिर नै महँङ्गो मूल्यमा खरीद गर्ने उहाँले जानकारी दिनुभयो । बाँस अहिले रु २३० प्रतिवटा खरीद गर्नुपर्ने र रु २८० देखि रु ३०० मूल्यसम्ममा बिक्री गरिँदै आइएको छ ।

बाँस खरीद गर्न गाउँमा जाँदा बैलगाडा लिएर जाने र त्यसमा ४० देखि ५० वटासम्म बाँस लोड गरेर ल्याउने गरेको उहाँले बताउनुभयो । व्यापारीलाई गाउँबाट बाँस ल्याउँदा बाटो कच्ची भएकाले राति हिँड्दा विद्युत् बत्ती नहुने भएकाले धेरै समस्या हुने गरेको छ ।

वर्तमान अवस्थामा कालोपत्र बाटोको निर्माण नहुनाले गाडा चलाउन समस्या भएकाले दुःख लागेको उहाँको भनाइ छ । बाँस खरीद गरेर ल्याइपछि सबै दिन एकैनाशको व्यापार नहुने भएकाले कहिलेकाहीँ त खरीद गरी ल्याइएको बाँस एउटा पनि बिक्री नभई सबै सुक्ने गर्दछन् । खरीद मूल्यभन्दा कममा घाटा खाएर बाँस धेरै सस्तोमा बिक्री गर्नुपर्ने समस्या रहेको उहाँले जानकारी दिनुभयो । ग्राहकले माग गरेमा आफूले घरघरसम्म बाँस लगिदिनेसमेत गरेको उहाँले बताउनुभयो ।

आफ्नो पाँच जनाको परिवारको पालनपोषण यही बाँसको कारोवारले गर्दै आइरहेको र यसको व्यापारबाट महिनामा राम्रो आम्दानी भएको हँुदा पेशाप्रति सन्तुष्ट लागेको मण्डलले जनकारी गराउनुभयो ।

विराटनगर–११ निवासी रविन साह पनि विगत तीन वर्षदेखि बाँसको व्यापार गर्दै आउनुभएको छ । बाँस सुनसरीको गाउँबाट खरीद गर्ने र घरमा राखेर बेच्दै आइरहेको उहाँले बताउनुभयो । ग्राहक घरमा आएर बाँस खरीद गरी लाने गरेको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वका समयमा अन्य महिनाको तुलनामा बाँसको बिक्री अत्यधिक हुने गरेको र त्यसबेला आम्दानी राम्रो हुने गरेको छ । विगतको तुलनामा ग्रामीण क्षेत्रमा कृषकले बाँस बढी मूल्य राखेकाले महङ्गोमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ । उहाँ ग्राहकले नबुझेर अत्यन्त मोलमोलाई गर्दा दुःख लाग्ने गरेको बताउनुहुन्छ ।

बाँसका व्यापारीले विराटनगर महानगरपालिकाले ग्राहकलाई सहज खरीदका लागि एउटा बिक्री केन्द्रको व्यवस्था गर्नुपर्नेमा उहाँहरुले जोड दिएका छन् । त्यस्तै मोरङको कदमाह निवासी–२४ वर्षीय लक्ष्मण मण्डलले घरबाट ठेलागाडामा बाँस ढुवानी गरी विराटनगरको हाटखोलामा ल्याएर बाँस बेच्दै आइरहनुभएको छ । उहाँले बाँस मोरङको नेताचोक, कर्सिया, तेतरिया र झोराहाटबाट खरीद गरी ल्याई बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँले १६ वर्षको उमेरदेखि बाँसको खरीद बिक्री गर्दै आइरहेको जानकारी दिँदै घरपरिवारको खर्च चलाउनुपर्ने जिम्मेवारी आएपछि काम गर्नुपरेको बताउनुभयो । मोरङको भित्री गाउँमा पसेर बर्षात् र हिउँदका समयमा समेत बाँस खरीद गर्ने र केही नाफा खाएर बिक्री गर्ने गरेको उहाँ जानकारी दिनुभयो ।

साउन भदौ महिनाबाहेक अन्य महिनामा बाँसको व्यापारबाट राम्रो मुनाफा आर्जन हुने व्यापारीको भनाइ छ । यसैगरी ६० वर्षीय श्याम सहनी बाँस बैलगाडामा घरघर डुली बिक्री गर्दै हिँड्ने गर्नुहुन्छ । उहाँ आफ्नो जीवन बाँस घरघरमा डुलाउँदै बिक्री गर्नमा बित्न लागेको बताउनुहुन्छ ।

दिउँसोका समयमा सडक व्यस्त हुनाले बैलगाडा सञ्चालनमा बाधा हुने तथा ट्राफिक प्रहरीले पनि समस्या गर्ने हुनाले बिहानको समयमा बिक्री लागि बाँस ल्याउने गरेको उहाँहरुको भनाइ छ ।

घरबाट बिक्रीका लागि बिहान हिँडेपछि सम्पूर्ण बाँस बिक्री नभएसम्म बिक्रीस्थलमा बस्ने, खाने गरेको उहाँहरुको भनाइ रहेको छ । उनीहरुले घरबाट ल्याएको चिउरा, मुरी अथवा बिक्रीस्थलमा खाना पकाइ खाने गरेको बताउनुभयो । बिक्रीस्थलमा अरु सबै ठिक भए पनि पानी र शौचालयका भने धेरै नै कष्ट व्योर्नुपर्ने उहाँको गुनासो रहेको छ ।

सानो व्यापार भए पनि ग्रामीण क्षेत्रबाट खरीद र बिक्रीका लागि ल्याउँदा गाउँपालिका र महानगरमा कर तिर्नुपर्ने हुँदा यसमा छुट गर्नुपर्ने व्यवसायिको आग्रह छ । घर सञ्चालनमा धेरै समस्या पर्ने भएकाले सम्पूर्ण बाँसको बिक्री नहुञ्जेलसम्मका लागि बिक्रीस्थलमा बस्ने गरेको उहाँहरुले बताउनुभयो ।

    सम्बन्धित समाचार...