१४ बैशाख २०८१, शुक्रबार

सरकारी विद्यालयको कन्तविजोगः प्रशासनिक काम भर्‍याङमुनिबाट

Bharyang muni 1024x682 1

भरतपुरको एक सरकारी विद्यालयको प्रशासनिक काम भर्‍याङमुनिबाट हुदै आएको छ ।

भरतपुर–५ विकासचोकदेखि पश्चिम गुलाफबागमा रहेको भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय प्रशासनिक भवनविहीन छ । विद्यालयमा तीन भवनका १० कोठामै कक्षा कोठा राख्नुपरेपछि प्रशासनिक काम गर्न विद्यालयलाई कोठा अभाव देखिएको छ ।

२०४५ सालमा स्थापना भएको विद्यालयमा केही वर्ष यता विद्यार्थी चाप बढेको छ । यही सरस्वती पूजामा ३९ जना नयाँ विद्यार्थी थपिएपछि विद्यालयको अफिसमा कक्षा ५ को पढाई हुन थालेको छ । तीन कोठामा नर्सरीमा १२७ विद्यार्थी छन् । २०७२ सालमा विद्यालयमा ५१ मात्रै विद्यार्थी भएपछि विद्यालय मर्ज हुने अवस्थामा पुगेको थियो । विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले हाल विद्यालयमा ३३४ जना विद्यार्थी रहेको बताए । ‘बोर्डिङ छाडेर यो वर्ष ५० विद्यार्थी थपिएका छन्’, उनले भने, ‘पढाई राम्रो हुन थालेपछि विद्यार्थी आकर्षण बढेको छ ।’

विद्यालयले थप कक्षा कोठा निर्माण गर्न बजेट अभाव देखिएको जनाएको छ । ‘विद्यार्थीको चाप अनुसारको कक्षा कोठाको अपुग छ’, उनले भने, ‘अफिसको सामान सारेर नजिकैको मन्दिरमा राखेका छौँ, केही दराज कक्षा ४ र ५ मा राखेका छौँ ।’

यो विद्यालयमा कक्षा ५ सम्मै अंग्रेजी माध्यममा पढाइ हुन्छ । स्कुल ड्रेस, टाई, बेल्ट, स्कुल व्याग अनिवार्य गरिएको छ । विद्यार्थी ल्याउन पु¥याउन स्कुल बस र म्याजिक सञ्चालन गरेको छ । निःशुल्क यातायातको सुविधा दिएको छ । विगतमा आसपासमा अस्थायी बसोबास गर्नेका बालबालिकामात्रै पढ्न आउने गर्थे । हाल विद्यालयमा स्थायी ठेगना भएका अभिभावकले समेत विद्यार्थी पढाउन भर्ना गर्न थालेका छन् । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्वर्गीय लालबहादुर सुवेदीका छोरा पूर्वविद्यार्थी अमिर सुवेदीले विद्यालयलाई मासिक ९८ हजार रुपैयाँ सहयोग विगत ३ वर्षदेखि गर्दै आएका छन् । अमिरलेनै उपलब्ध गराएको रकमबाट स्कुल बसको भाडा, विद्यार्थीलाई स्कुल व्याग दिने गरिएको छ भने निजी स्रोतका केही शिक्षकलाई समेत तलब दिइएको छ । अमिर हाल अमेरिकामा छन् । ‘अमिरले ५० वटा ल्यापटप प्याक गरेर पठाउन खोज्नुभएको छ’, उनले भने, ‘कोठा नहुदा सहयोग पठाउनु भन्न सकेका छैनौँ ।’ विद्यालयमा चार जना दरवन्दीका र निजी स्रोतका ६ जना शिक्षकहरु कार्यरत छन् ।

विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत भवन बनाउन भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखामा एक महिना पहिले प्रस्ताव पेस गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा चार कोठे नयाँ भवन बनेको छ । सो भवनको असार २९ गते शिलान्यास गर्ने क्रममा भरतपुरका मेयर रेनु दाहालले आफ्नै कार्यकालमा चार कोठे भवन निर्माणका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएकी थिइन् । शिक्षक अभिभावक संघका अध्यक्ष निलकण्ठ अधिकारीले विद्यालयमा थप कोठा निर्माण गर्न बजेट व्यवस्था गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराए ।

‘मर्ज हुने क्रममा रहेको विद्यालय अहिले सबैको रोजाइको बनेको छ’, उनले भने, ‘कोठा नहुदा थप विद्यार्थी राखेर पढाउन सक्ने अवस्था छैन, तत्काल कोठा बनाउन महानगरले चासो दिनुपर्छ ।’ गत वर्ष धनधान्यञ्चलनै गरेर एक करोड बराबरको अक्षकोष स्थापना गर्ने योजना बने पनि त्यो योजना बीचमै अलपत्र परेको थियो । विद्यालयमा कम्पाउण्ड वाल नहुदा कुकुर, स्याल विद्यालय चौरमै आउने जोखिम छ । विद्यालयले चार कोठा थप भएमा अफिस, लाइब्रेरी, कम्प्युटर ल्याब, किचन व्यवस्था गर्न सजिलो हुने जनाएको छ ।

school photo