६ बैशाख २०८१, बिहीबार

सिन्धुलीमा प्रजातन्त्र दिवसमा जग्गाधनी पुर्जा वितरण

Lalpurja fnl.

यहाँ ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो ।

कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सुनकोशी गाउँपालिका–७ का ७६ वर्षीया शान्ता मायादेवी तामाङलाई मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले जग्गाधनी पुर्जा हस्तान्तरण गर्नुभएको थियो ।

वर्षौदेखि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पुर्जा नहुँदा समस्यामा परेका जग्गाधनीलाई पुर्जा वितरण गरिएको हो । कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा सुनकोशी–७ मझुवा, तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ, मरिण गाउँपालिका–४ र घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा रहेका गाउँ ब्लकमा रहेका जग्गधनीलाई पुर्जा वितरण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद बडालले सुनकोशी–५ का २३, तीनपाटन–८ का चार, मरिण–४ का आठ र घ्याङलेख–२ का आठलाई जग्गाधनी पुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।कार्यालयले सबै विवरण मालपोत कार्यालयमा पठाउने र अबका ६० दिनपछि सम्बन्धित जग्गाधनीले कानुनीरुपमा किनबेच गर्न तथा धितो राखेर ऋण निकाल्न सक्ने उहाँको भनाइ छ । पुर्जा पाएपछि खुसि हुँदै शान्ता मायादेवी तामाङले धेरै संघर्षले पुर्जा पाएको बताउनुभयो ।

जग्गाको पुर्जा दिएकामा उहाँले सम्बन्धित सबैलाई धन्यवाद दिँदै अब जग्गाको बिक्री गर्ने कानूनी बाटो खुलेको बताउनुभयो ।