
प्रजातन्त्र दिवसका अवसरमा आज यहा झण्डोत्तोलन गरिएको छ । भरतपुर महानगरपालिका–२ आँपटारी चोकमा नेपालको नयाँ झण्डा राखी झण्डोत्तोलनसमेत गरिएको हो ।
प्रजातन्त्र दिवस जिल्ला समारोह समिति चितवनको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरुपमा झण्डोत्तोलन गर्नुभएको थियो । भरतपुरको मुख्य बजार र सरकारी कार्यालय क्षेत्र प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण यस ठाउँमा झण्डा राखिएको हो । यहाँबाट पवित्र तीर्थस्थल देवघाट पनि प्रवेश गर्न सकिन्छ ।

सडकको बीचमा बनाइएको गोलो भागमा झण्डा राखिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले प्रजातन्त्रको दिवसको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो । सो ठाउँलाई थप सुन्दर बनाइँदै छ । नारायणगढ मुग्लिन सडकखण्डको विस्तारका क्रममा आँपटारीमा सडकको बिचमा गोलो ठाउँ छाडिएको थियो । सोही ठाउँमा राष्ट्रिय झण्डा राखिएको हो ।
नेपालमा प्रजातन्त्र दिवस विसं २००७ को क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहाँनीया राणा शासन अत्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । यस्तै भरतपुर अस्पतालमा रहेका बिरामीलाई फलफूल एवं जुस वितरण गरिएको छ भने सहयोगापेक्षी सडक मानवको अभिभावक मानव सेवा आश्रममा आश्रित व्यक्तिलाई खाना खुवाई राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।
तेह्र कैदीले पाए आममाफी
कारागार कार्यालय भरतपुरमा रहेका १३ कैदीले आममाफी पाएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार ५० प्रतिशत कैद भुक्तान भई आचरण राम्रो भएका उनीहरुले आममाफी पाएका हुन् । आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका पाँच जना, कर्तव्य ज्यान मुद्दाका चार जना र ज्यान मार्ने उद्योगका चार जना रहेको काफ्लेले जानकारी दिनुभयो । कार्यालयले २६ जनाको सिफारिस गरेकामा राष्ट्रपतिबाट १३ जनाको नाममा आममाफी भएको हो ।
सरकारले हरेक वर्ष विभिन्न अवसरका क्रममा देशभरका कारागारमा रहेको असल चरित्र भएका र ५० प्रतिशत कैद भुक्तान भएकालाई राष्ट्रपतिमार्फत आममाफी दिने गरेको छ । प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस र बडादशैँजस्ता अवसरमा आममाफी दिने गरिन्छ । कारागार कार्यालय भरतपरमा अहिले क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । दुई सय ५५ पुरुष बन्दीगृहमा ६२१ र २५ जना महिला बन्दीगृहमा ५७ जना रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित बालबालिकासमेत रहेको काफ्लेले बताउनुभयो ।
कैदीबन्दीको चाप बढेसँगै विभिन्न जिल्लामा स्थानान्तरण गरिने गरेको भए पनि कोरोना कहरका कारण यस वर्ष स्थानान्तरण नगरिएको उहाँले जानकारी दिनुभयो ।