१३ बैशाख २०८१, बिहीबार

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद

nepali congress

नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्रीसमेत रहनु भएका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण गर्न चाहन्न, तर कसैले पनि अपराधलाई राजनीतिकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नुहुन्न ।” सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रो सँग अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उहाँले दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोषलाई फसाउन नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “भागरथीको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् भन्ने कुरामा नेपाली कांग्रेस गम्भीर छ, यसमा कुनै दाषी मान्छे नउम्कियोस्, निर्दोषले जेल जान नपरोस्, यतातिर सजग भएर प्रशासनले कदम चाल्नुपर्छ ।”

यसैबीच पत्रकारले पार्टीको महाधिवेशन कहिले हुन्छ ? भन्ने प्रश्नमा नेता साउदले पार्टीको महाधिवेशन अगामी भदौमा हुने बताउनुभयो । कोरोना कहर, प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचन घोषणाले तोकिएकै समयमा महाधिवेशन हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पार्टीको समायोजन हुननसक्नु, राज्य पुनःसंरचनाका बेला भूगोल परिवर्तन हुनु र कोरोना महामारीका कारण यही फागुन ७ गते हुने भनिएको महाधिवेशन हुन सकेन ।”फागुनमा हुन नसके पनि भदौपछि कानूनले पनि महाधिवेशन गर्न नमिल्ने भएकाले जसरी पनि भदौमा महाधिवेशन हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा कुनै पनि दलले पाँच वर्ष छ महिना भित्र महाअधिवेशन गरिसक्नुपर्ने उल्लेख छ, त्यसैले हामी भदौमा जसरी भए पनि महाधिवेशन गर्छाैँ ।” वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरीत भएको उहाँको भनाइ थियो ।

“प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत हो तर अहिले नै हामीले आन्दोलनमा जानु उपयुक्त होइन”, उहाँले भन्नुभयो, “विघटन विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ, अदालतको फैसला पर्खिएका छौँ, अदालतको फैसला मान्छौँ ।”