६ बैशाख २०८१, बिहीबार

नेकपाका दैलेख जिल्ला कमिटि सदस्यहरुले लिए सामुहिक सपथ

dailekh jilla committee kpoli

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि दैलेखका सदस्यहरुले सामुहिक रुपमा सपथ ग्रहण गरेका छन् । जिल्ला कमिटिमा मनोनित भएका नयाँ सदस्यहरुले विहीबार सामूहिक रुपमा सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटिमा मनोनित सदस्यहरुले सपथ लिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि दैलेखको दोस्रो पूर्ण बैठककै अबसरमा नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेल सपथ ग्रहण गराएका हुन् ।

दोस्रो पूर्ण बैठक दैलेख सदरमुकामस्थित कोतगढीमा बसेको थियो । दोस्रो पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेतृत्वमा मुलुक समृद्ध हुने धारणा राखे । अर्को प्रसंगमा नेता कंडेलले पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षलाई विचारमा प्रतिष्पर्धा गर्न समेत आग्रह गरे । नेता कंडेलले पुष्पकमल दाहाल प्रचण्ड, मान्छे सक्कली भएपनि कुरा नक्कली भएको टिप्पणी गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोराछोरीले हेलाँ गरेको बेला पनि बुढेसकालमा पाल्ने पार्टी भएको समेत दाबी गरे ।

सोहि अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालले सर्बोच्च अदालत र निर्वाचन आयोगलाई धम्की दिएर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाए । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझैँपनि सुध्रिन नसकेको समेत टिप्पणी गरे ।

सोहि अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले प्रस्तुत गरेको पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ । बैठकले ७१ सदस्यीय सचिवालय सदस्य मनोनित गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । बैठकलाई नेकपा केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजाल, नेताहरु मिनासिंह रखाल, लक्ष्मीप्रसाद पोखरेल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक, संवैधानिक र कानुनी रुपमा रक्षात्मक देखिए पनि संगठनात्मक गतिविधिमा भने आक्रामक देखिएको छ । यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष भने आन्दोलनमा उत्रिएको छ ।