७ बैशाख २०८१, शुक्रबार

यसरी नाम बस्यो जहरसिंह पौवाको नाम, शिवराम सिंहको २७५औँ पुण्यतिथि

jarsing pauwa

नेपाल एकीकरण अभियानमा गोरखा राज्यको पहिलो सेनापति वडावीर शिवराम सिंह बस्न्यातको २७५औँ पुण्यतिथिका अवसरमा शङ्खरापुर नगरपालिका–३ जहरसिंह पौवा स्थित साँगा चोकमा उहाँको योगदानको स्मरण गरिएको छ ।

श्रीपाली बस्न्यात समाज नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष नीरञ्जनमान सिंह बस्न्यातले श्रीपाली बस्न्यात कल्याणकारी कोष, वडावीर शिवरामसिंह बस्न्यातको शालिक निर्माण, स्मारिका प्रकाशन र प्रवुद्ध व्यक्तिको बैठक गर्ने घोषणा गर्नुभयो । बस्न्यातका माहिला छोरा केयरसिंह बस्न्यातका जेठा छोरा जहरसिंह बस्न्यातले पाटी बनाएकाले सो ठाउँको नाम जहरसिंह पौवा रहन गएको हो ।

विसं २०१४ सम्म सो पाटीमा बस्न्यात समाजले श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपू र्णिमाका दिन भण्डारा लगाउने गरिएको थियो । पछि पाटी मासिएपछि यस परम्परा अन्त्य भएको समाजका सल्लाहकार एवं वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जानकारी दिनुभयो । तिब्बतसम्म पैदल जाने यो मार्गमा हिँड्नेलाई बस्न सजिलो होस् भनी पाटी निर्माण गरिएको हो ।

कार्यक्रममा समाजका सदस्य शेखरसिंह, पृथ्वीमानसिंह र भोलामानसिंह बस्न्यातले राष्ट्रिय एकीकरण, पृथ्वीनारायण शाह र शिवरामसिंहको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । वडावीर शिवराम सिंहले विक्रम सम्वत १८०३ फागुन ५ गते अर्थात् आजभन्दा २७५ वर्ष अघि एकीकरण अभियानको सिलसिलामा साँगाचोकमा वीरगति प्राप्त गर्नुभएको थियो । हालै नेपाली सेनाले महत्व दिई ‘राष्ट्रिय एकीकरण मार्ग’ को अवधारणमासमेत उक्त जहरसिंह पौवा क्षेत्रलाई समावेश गरेको छ ।

सेनापति शिवरामसिंह बस्न्यात नेपाल एकीकरण अभियानका गोरखा राज्यका पहिलो सेनापति हुनुहुन्थ्यो । शिवरामसिंहको लडाइँमा भएको मृत्यु पश्चात उहाँकी श्रीमती वीराड्गना शुरप्रभा बस्न्यातले आफ्ना टुहुरा छोराहरु लिएर गोरखा दरबारमा राजा पृथ्वीनारायण शाहलाई भेटी “बाघ त गोरखाको लागि मरिहाले, यी चार डमरुले पछि गोरखाको लागि काम गर्नेछन्” भनी भनेको इतिहासमा उल्लेख भएको पाइन्छ ।

पछि उनी जत्तिकै सक्षम र इमान्दार उनका चार छोरा क्रमशः काजी नाहरसिंह बस्न्यात, काजी केहरसिंह बस्न्यात, काजी अभीमानसिंह बस्न्यात र काजी धोकलसिंह बस्न्यात, राजा पृथ्वीनारायण शाहको मरवट नीति अनुरुप हुर्के बढेर एकीकरण अभियानमा संलग्न भई नेपाल राज्य विस्तार र सुदृढ गर्न निकै महत्वपूर्ण योगदान दिएको नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ । नेपालको एकीकरण अभियानमा अग्रणी भूमिका खेल्ने भारदारमा एक महत्वपूर्ण भारदार सेनापति बडावीर शिवरामसिंह वस्न्यात हुन् ।

राजा पृथ्वीनारायण शाहले बस्न्यात र पाण्डेबीच सम्बन्ध सुधार गर्न सेनापती बडावीर शिवरामसिंह बस्न्यातका माहिला छोरा काजी केहरसिंह बस्न्यातको विवाह काजी कालु पाण्डेको छोरी चित्रादेवी पाण्डेसँग गराइदिएको भनाइ छ । नेपाल एकीकरण गर्न “बस्न्यातको तरवार र पाण्डेको ढाल” भनी इतिहासमा उल्लेख गरेको पनि पाइन्छ ।

वीरहरुले आफ्नो अथक परिश्रम र प्रयास मात्र गरेको होइन आफ्नो जीउज्यान नै नेपाल एकीकरणका लागि आहुती गरेको इतिहासमा पाइन्छ । गोरखाका राजा पृथ्वीनारायण शाह र उनका अनुयायीको अथक परिश्रमबाट नेपालको एकीकरण अभियान सञ्चालन भई नेपाल निर्माण भएको हो ।डा नीरञ्जनमानसिंह बस्नेतले हालै “ए सर्ट बायोग्राफी अफ किङ पृथ्वीनारायण शाह आएण्ड हिज काउन्सिल टु द पिपुल अफ नेपाल” नामक पुस्तक अङ्गेजी, फ्रेन्च र स्पेनिस भाषामा समेत प्रकाशन गरी पृथ्वीनारायण शाह, नेपालको एकीकरण र उहाँको दिव्य उपदेशबारे अन्तर्राष्ट्रियकरण गर्न सफल हुनुभएको छ ।

हालै नेपाली सेनाले महत्व दिई ‘राष्ट्रिय एकीकरण मार्ग’ को अवधारणामा समेत जहरसिंह पौवा क्षेत्रलाई समावेश गरी कामको थालनी गरेको छ । राष्ट्र निर्माणमा अति महत्वपूर्ण भूमिका खेलेका यस्ता वीर पुरुष तथा महिलाको उच्च सम्मान हुनुपर्ने प्रतिष्ठानले जनाएको छ ।