fbpx
१ जेष्ठ २०७८, शनिबार

प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी विवाहित महिलाको उद्धार

फाइल फोटो

प्रलोभनमा पारेर ललाइ फकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोके बजारबाट आज उद्धार गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइ फकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

उहाँका अनुसार उद्धार गरिएकी महिला सहित डगौरालाई आवश्यक कारवाहीका लागि प्रहरी चौकी त्रिनगरमा बुझाइएको छ ।

सीमा क्षेत्रबाट लागु औषधसहित पक्राउ

पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् ।

मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकल सहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो ।

पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ ।