६ बैशाख २०८१, बिहीबार

दुई जना मान्छे खाने पाटे बाघ जेल सजाय भोग्दै

tiger banke national park
फाइल फोटो

सामान्यतया मानिसले अपराध गरेर कानुनी सजाय स्वरुप जेल जीवन बिताइरहेको हामीले सुनेका वा देखेका छौँ । तर, एउटा जंगली जनावरले पनि अपराध गरेर कैद बिताइरहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । दुई जना मान्छेखाएर चितवन राष्ट्रिय निकुञ्ज कसराको कारागाररुपी खोरमा एउटा बाघ अपराधको सजाय भोगिरहेको छ । त्यहाँ एउटा फलामले घेरिएको पर्खाल छ । त्यही पर्खालभित्र नरभक्षी बाघलाई राख्ने ठूलो खोर छ । फलामले बारिएको खोरभित्र नरभक्षी बाघले सजायको पाँच महिना बिताएको छ ।

गत सोमबार त्यहाँ पुग्दा सुतिरहेको बाघ मानिसको आवाजले सचेत भयो । कहिलेकाहीँ मानिसको आवतजावतमा चर्को गर्जन निकालेर रिस प्रकट गर्ने उसको हेरचाहमा खटिएका निकुञ्जका संरक्षणकर्मी बताउँछन् । निकुञ्जले दिएको जानकारी अनुसार यो बाघको उमेर ६ वर्ष भएको छ । यो बाघ नेपालको सबै भन्दा ठूलो भाले बाघ हो ।

बाघ विज्ञका अनुसार बाघले मान्छे नै खान्छु भनेर खाएको हुँदैन । उसले मानिसलाई खानु रहर नभइ बाध्यता हो । नरभक्षी बाघ सानोमा चुलबुले थियो । पछि यो ठूलो हँुदै गएपछि यसले आफ्नो क्षेत्र बढाउन थाल्यो ।

राप्ती नदी पारीको जंगलभित्र बघिनीले आफ्नो छुट्टै क्षेत्र बनाउन थालेपछि अहिले कसाराको खोरमा राखिएको नरभक्षीले पनि पोथी बाघको नजिकैतिर आफ्नो छुट्टै क्षेत्र बनायो । यसलाई आफ्नो क्षेत्रमा अरु जीवजन्तुहरु आएको मन पर्दैनथ्यो । उसले चित्तल, मृगलगायतका जीवजन्तुहरु आहारा बनाउने गर्दथ्यो । जंगलभित्र सबैभन्दा ठूलो, मोटो भएकोले पनि नरभक्षीको छेउतिर जान कोही पनि अघि सर्दैनथे । नरभक्षी आफ्नो आहारा खाएर आनन्दले शीतल छहारीमा बस्थ्यो । निकुञ्जका रेन्जर पुष्पदीप श्रेष्ठका अनुसार पेट भोको भएको बेला मात्रै नरभक्षीले अन्य जीवजन्तुलाई आक्रमण गर्दथ्यो ।

यसरी नै नरभक्षीको दिनहरु बितिरहेको थियो । तर, उसलाई नै आक्रमण गरी उसले विचरण गर्ने क्षेत्रमा अन्य बाघले कब्जा गरे । त्यसपछि उसलाई आहारा पाउन पनि मुस्किल हुँदै गयो । पहिले उ बसेको क्षेत्रमा सहजै आहारा फेला पर्न छाड्यो । बिस्तारै उसको तौल घट्दै गयो । उसलाई आहाराको लागि धेरै सकस हुँदै गयो । शिकार गर्दा नरभक्षी घाइते भयो । उसले शिकार गर्न पनि सकेन ।

त्यसपछि उसले जंगल छोडेर मानिसले घाँस दाउरा काट्ने क्षेत्रतिर आउन थाल्यो । अन्तिम अवस्थामा केही नपाएपछि उसले वनमा घाँस काट्न गएका एक पुरुषलाई मारेको थियो । बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका–१३ का ६० वर्षीय बाबुराम महतोलाई भदौ २२ गते नरभक्षीले आफ्नो आहारा बनाएको थियो । यसपछि नै यसको बारेमा जान्न सबैको ध्यान केन्द्रित भयो ।

महतो घर नजिकैको सामुदायिक वनमा घाँस काट्न गएका थिए । बिहान करिब साढे १० बजे नरभक्षीले महतोलाई खाएको थियो । उसले महतोको शव आधा शरीर खाएको अवस्थामा निकुञ्जभित्र छाडेको थियो । चितवन राष्ट्रिय निकुञ्जका रेञ्जर श्रेष्ठका अनुसार नरभक्षी बाघले एउटा मानिस खाएर अरु मानिसलाई पनि आक्रमण गर्दैन भन्ने अनुमान गरेको थियो । नरभक्षीले पनि अन्य मान्छेलाई आक्रमण गर्दैन भन्ने विश्वासले उसको खोजी नगरेको रेञ्जर श्रेष्ठले बताउनुभयो ।

तर, नरभक्षीले बाटुली पोखरीमा मान्छे खाएको एक महिना नपुग्दै फेरि अर्को पुरुषको पनि ज्यान लियो । असोज १० गते बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीलाई खाएको थियो । वनको गेटको नजिकै घर भएका चौधरीलाई वनको गेटबाट करिब ४०० मिटरभित्र घाँसे मैदानमा घाँस काट्दै गरेको अवस्थामा बाघले आक्रमण गरेको थियो ।

मृतकका छोराले बाबुलाई बाघले खाँदै गरेको देखेपछि अन्यलाई खबर गरेका थिए । यसले राप्ती नदी तरेर पारी जंगलभित्र लगेर चौधरीलाई खाएको निकुञ्ज स्रोतले बताएको छ । त्यसपछि निकुञ्जले मान्छे खाएको भोलिपल्ट नै बाघको खोजी कार्य शुरु गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत शिव गैरेले जानकारी दिनुभयो । यो बाघलाई खोज्नको लागि निकुञ्जको ६ वटा हात्ती तथा नारायणी सफारीबाट चार वटा हात्ती री १० वटा हात्तीलाई लगिएको थियो । साथै निकुञ्जका कर्मचारी, सेना तथा प्रहरी समेत गएर बाघलाई समातेका थिए । यसलाई करिब पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको गैरेले जानकारी दिनुभयो ।

यो नरभक्षी बाघलाई औषधियुक्त सुई प्रहार गरी लठ्याएर (डार्ट गरी) समातिएको थियो । त्यसपछि नरभक्षी बाघलाई निकुञ्जको मुख्यालय कसरामा रहेको खोरमा राखियो । त्यो दिन त बाघले खानेकुरा पनि केही खाएन । कसराको गोही प्रजनन् केन्द्र तथा बाघको हेरचाह गर्ने मणिराज महतोले भन्नुभयो, ‘नरभक्षीलाई खोरमा थुनिएको दिन थकित भएको थियो । आहारा पनि खाएको थिएन । छटपटिएर यताउता हिँड्थ्यो, कराइरहन्थ्यो । उसको अनुहारमा रिसाहा देखिन्थ्यो । पानी मात्रै खान्थ्यो ।’

बाघको दिनचर्या

फलामको रडले बनाइएको खोरभित्र दुईवटा कोठा रहेका छन् । एउटा खोरमा आहारा खाने ठाउँ छ । नरभक्षी बाघ खोरको वरिपरि घुम्दै गर्जिन्छ । यसलाई खोरमा राखेको पनि पाँच महिना पूरा भएको छ । बिस्तारै नरभक्षीको व्यवहारमा पनि परिवर्तन आएको छ ।

यसका पञ्जाहरु पनि धेरै फलामका डण्डीमा दलिएर राता र फुुस्रा भएका छन् । यसलाई रातको समयमा उनका बघिनी भेट्न नजिकै आएर छुन खोज्छन् । तर, फलामका बारले गर्दा उनीहरुले पञ्जाको नंगले मात्रै छुन सक्छन् । करिब २÷३ घण्टाको समयमा बघिनीले नरभक्षी बाघलाई छोडेर जान्छन् ।

जंगलमा भएका चरा, बाँदरहरु कराएको आवाजले बघिनीले भेट्न आएको संकेत हुने महतोले जानकारी दिनुभयो । यसपछि बाघ अलि खुसी हुँदै सुत्न थाल्छ । बिहान अबेरसम्म सुत्छ । दिउँसोको समयमा यसलाई ८ केजी मासु दिइन्छ । नरभक्षीले आहारा खाएपछि एकछिन आराम गरेर सुत्ने महतोले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीको अनुसार यो बाघको लम्बाई २९६ सेन्टिमिटर रहेको छ भने टाउकाको लम्बाई मात्रै ४५ सेन्टिमिटर रहेको छ । अधिकारीले भन्नुभयो, ‘तत्काल नरभक्षी बाघलाई छोड्न सकिने अवस्था छैन । यदि उसको बानीव्यवहारमा राम्रो परिवर्तन आयो भने छोड्न सकिन्छ तर उस्तै व्यवहार भयो भने छोड्न सकिदैन ।’

चितवन राष्ट्रिय निकुञ्जमा हाल १०० वटा पाटे बाघ रहेका छन् । बाघ १६ देखि २० वर्षसम्म बाँच्छ । अधिकारीले जंगलमा घाँस दाउरा काट्न जाने मानिसहरुले बाघको पिसाब र बाघको गन्ध याद राख्नुपर्ने बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘बाघको पाइला भएको ठाँउमा रौँहरु वा रगत वा धसारिएको चिन्ह भए पछ्याएर जानु हुँदैन । बाघले शिकार गरेर खान लागेको छ, शिकार बच्चालाई खुवाउन लागेको छ भन्ने अनुमान लगाउनुपर्छ । यस्तो अवस्थामा बाघ खतरनाक हुन्छ ।’