८ बैशाख २०८१, शनिबार

पार्टीकै नेताहरूले मेरो चरित्रहत्या गर्न खोजे : सभापति देउवा

sher bahadur deuba
फाइल फोटो

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ।

‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वाेच्च अदालतको फैसला कुरौं भनेको हो।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन्। नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बने। पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने, ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’

उनले आफू सर्वाेच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा व्यक्त गरे। निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए।

बैठकमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले पार्टीभित्र वरीयताक्रम मिलाउन माग गरे। नेता बलायरले विगतमा आमन्त्रित सदस्य अहिले आफूहरूभन्दा माथि रहेको भन्दै आपत्ति जनाए। ‘१२ औं महाधिवेशनपछि १३ औं महाधिवेशनको मुखमा तत्कालीन सभापति सुशील कोइरालाले केही आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो’, उनले भने, ‘तर, अहिले उनीहरूलाई हामीभन्दा वरीयताक्रममा माथि राखिएको छ। यो तत्काल सच्याउनु पर्छ।’

उनले क्रियाशील सदस्यता वितरणमा लोभ नगर्न पनि आग्रह गरे। ‘पार्टीको तल्लो तहका कमिटीमै रहेका साथीहरूले सक्रिय सदस्यता पाउने अवस्था छैन। यसलाई बढाउनुपर्छ,’ उनले भने, ‘संगठन बढाउनुपर्छ भन्ने तर सदस्यता नदिने कुरा उचित हुँदैन।’
बैठक बिहीबार दिउँसो ३ बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

महाधिवेशन भदौमा प्रस्ताव

नेपाली कांग्रेसको महाधिवेशन २०७८ भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। शीर्ष नेताहरूसँगको परामर्शपछि बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। यसअघि फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय भएको थियो।

बैठकले विधानका केही धारा निलम्बन गरेको छ। विधानअनुसार महाधिवेशन नहुने भएपछि धारा निलम्बन गर्दै नयाँ मिति प्रस्ताव गरिएको हो। कांग्रेसको विधानको धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधि चार वर्ष हुने व्यवस्था छ। असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिको कार्यकाल फागुन तेस्रो साता सकिँदै छ। विधानको सुविधाअनुसार पाँच वर्षमा पनि महाधिवेशन नहुने निश्चित भएपछि कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार भदौमा महाधिवेशन गर्न लागेको हो। संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांशमा पाँच वर्षभित्र निर्वाचन हुन नसके थप ६ महिनाको सुविधा दिइएको छ।

प्रस्तावित मितिअनुसार संघीय व्यवस्थाबमोजिम संगठन समायोजन हुन बाँकी जिल्लाले अबको एक साताभित्र काम टुंग्याउनुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। प्रवक्ता शर्माका अनुसार जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता फारम चैतभित्र केन्द्रमा पठाइसक्नुपर्ने प्रस्तावित कार्यतालिकामा उल्लेख छ। क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले ०७८ जेठभित्र सदस्यताको अन्तिम सूची केन्द्रीय सभापतिलाई बुझाउनुपर्नेछ। केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची असार ७ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ।

प्रस्तावित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन असार २०, गाउँ/नगरपालिका अधिवेशन असार २२, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते हुनेछ। त्यस्तै, प्रदेश अधिवेशन साउन ६ गते तोकिएको छ।

त्यस्तै, कांग्रेसले राष्ट्रिय मान्यताप्राप्त दल कांग्रेससँग एकीकरण भएमा केन्द्रीय कार्यसमितिको सदस्य रहेको व्यक्ति वा राष्ट्रिय मान्यताप्राप्त दलको केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्य भएको व्यक्ति कांग्रेसमा प्रवेश गरेमा कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ। कांग्रेसले कार्यकाल सकिएका जनसम्पर्क समितिलाई ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न समय दिएको छ।
प्रस्तावित अधिवेशन
(क) गाउँ/नगर वडा अधिवेशन २०७८ असार २०
(ख) गाउँ/नगरपालिका अधिवेशन २०७८ असार २२
(ग) प्रदेशसभा क्षेत्रीय अधिवेशन २०७८ असार २५
(घ) प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असार २७
(ङ) एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असार ३०
(च) प्रदेश अधिवेशन २०७८ साउन ६
(छ) केन्द्रीय महाधिवेशन २०७८ भदौ ७, ८, ९ र १० काठमाडौं

यो समाचार आजको अन्‍नपूर्ण पोस्टमा छ ।