७ बैशाख २०८१, शुक्रबार

साना लगानीका मिडियालाई राज्यले संरक्षण गर्नुपर्छः उपराष्ट्रपति

Nanda Bahadur Pun Pashang left review online

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताउनुभएको छ । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको शुरुआत हुँदै गर्दा प्रतिनिधिसभा विघटन हुँदा निराशा छाएको बताउनुभयो ।

उहाँले पत्रकारका लागि बन्ने ऐन÷कानून र आचारसंहिता प्रेसमैत्री बनाउन जरुरी रहेको बताउँदै तिनले न्यनूतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रो पत्रकारिताले कतै विश्वसनीयता गुमाएको त होइन भन्ने आशङ्का पैदा भएको छ, आशाको भन्दा निराशाको पत्रकारिता भइरहेको छ ।” साना लगानीका मिडियालाई राज्यले संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वैशाखमा निर्वाचन गर्नाको विकल्प नभएको बताउँदै तयारीका लागि सबैलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा विघटन असंवैधानिक वा प्रतिगमन होइन, अनिर्णययबाट निकास दिनु प्रतिगमन होइन, विघटनले मुलुकलाई निकास दिएको छ, यसलाई नकारात्मकभन्दा पनि सकारात्मक ढङ्गबाट लिन जरुरी छ ।”

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिनका लागि आगामी वर्षको नीति÷कार्यक्रममा समावेश गरी बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारका प्रवक्ता गुरुङले लोककल्याणकारी विज्ञापन केवल टिभी र अनलाइन सञ्चारमाध्यमलाई समेत समावेश प्रदान गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यका साथ निर्देशिका ल्याउनेबारे छलफल शुरु भएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “छिटो सूचना दिने होडबाजीका कारण समाजलाई भड्काउने गरी गलत सूचना दिने प्रवृत्ति बढिरहेको छ, त्यसको अन्त्यका लागि पनि निर्देशिका जरुरी छ ।” उहाँले जीवनवृत्ति कोषलाई पत्रकारकल्याण कोषमा परिमार्जन गरी पत्रकारकै वृत्ति विकासमा खर्च गर्ने योजना सुनाउनुभयो ।

सांसद राधेश्याम अधिकारी सम्वन्धित क्षेत्रको सल्लाह र सुझावका आधारमा मात्रै मिडियासम्बन्धी ऐन÷कानून निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कुनै राजनीतिक आस्था र विचारका आधारमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई निष्काशन गर्न पाइँदैन भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट नेपाल प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहालले वर्तमान सरकार श्रमजीवी पत्रकारको पक्षको नदेखिएको जिकिर गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट प्रेस सङ्गठन नेपालका अध्यक्ष गणेश बस्नेतले लेखिरहेका वास्तविक श्रमजीवी पत्रकारलाई भन्दा पनि गैरपत्रकारलाई महासङ्घमा प्रवेश दिइएको आरोप लगाउनुभयो ।

प्रगतिशील पत्रकार सङ्घका निवर्तमान अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, जनपत्रकार सङ्घका अध्यक्ष शेरबहादुर विक, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा र लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले पत्रकार महासङ्घ सबैको साझा संस्था हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङ, राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अधयक्ष विनोद पहाडी र मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले महिला, दलितलगायत सीमान्तकृत समुदायद्वारा सञ्चालित मिडियालाई राज्यले कर छुट गर्नुपर्ने माग गर्नुभयो ।

पुरस्कार तथा सम्मान

यस वर्षको ‘कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार’ महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिएको तथा ‘कृष्णसेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार’ दलित पत्रकार सङ्घका अध्यक्ष पहाडीलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु जनही ५० हजार छ ।

‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ गणेश लम्साल, लोग्सरी कुँवर र कमला पाख्रिनलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ४० हजार छ ।

त्यसैगरी ‘उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार छ । जनही रु दश हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ रामभगत शाह र मुना हमाललाई प्रदान गरिएको छ । ‘श्रीमती रत्नकेशरी राजभण्डारी कृष्ण स्मृति पत्रकारिता पुरस्कार’ राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु दश हजार १११ छ । महासङ्घले यस वर्षको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ महासङ्घका कर्मचारी सुुुस्मिता भेटवाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु दश हजार छ । पत्रकार ईश्वरी बराल, भगवती थापा र फातिमा बानुलगायत ३७ पत्रकारलाई ‘कोरोना सङ्क्रमण विपद् पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरिएको छ ।

‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकारिता’ भन्ने मूल नारासहित शुरु भएको महाधिवेशनको बन्दसत्रमा नेपालको पत्रकारिता, पत्रकारको पेशागत हक, पत्रकारसँग सम्बन्धित ऐन÷कानून र पत्रकारिता क्षेत्रले राष्ट्रलाई पु¥याउन सक्ने योगदानबारे छलफल हुने अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

पत्रकारलाई सङ्गठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासङ्घमा पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र गरी करीब १३ हजार पत्रकार आबद्ध छन् ।