१६ चैत्र २०८०, शुक्रबार

७० प्रतिशत घरधुरीमा विद्युतको पहुँच, ५०० घरधुरीमा बाँकी

electricity

कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । गाउँपालिकाका नौ वडामध्ये ७ वटामा बिजुली पुगेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरेको छ ।

ती आयोजनाबाट गाउँपालिकामा दुई हजार ७०० घर धुरीमध्ये दुई हजार १०० घरधुरीमा बिजुलीबत्ती बलिसकेको गाउँपालिकाका ऊर्जा संयोजक जनराज बमले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ५०० घरधुरीमा केही महिनामै बत्ती बलिसक्ने गरी काम भइरहेको छ । “गाउँपालिकाको वडा नं १, २ र ३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने वडा नं ८ मा विद्युत् छैन”, उहाँले भन्नुभयो, “ती ठाउँमा अहिले विद्युतका पोल गाड्ने काम भइरहेको छ ।”

बत्ती नबलेका ती ठाउँमा एक-दुई महिनामै बिजुली बत्ती बाल्ने योजनासाथ काम गरिरहेको संयोजक बमले बताउनुभयो । “पलाँता गाउँपालिका विद्युत्ले आत्मनिर्भर भइसकेको छ”, उहाँले भन्नुभयो,“विद्युत् नपुगेका वडामा पनि विद्युत् यसै आर्थिक वर्षका पु¥याउने लक्ष्य राखिएको छ ।” गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक, बिजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफ्नो पहिलो प्रथामिकतामा रहेको बताउँनुभयो ।

“मैले गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा करीब पूरा भइसकेका छन् । अब केही विकासका प्रतिबद्धता पूरा गर्न बाँकी छन्”, उहाँले भन्नुभयो । ऊर्जा शाखा संयोजक बमका अनुसार गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका, अशक्त तथा असाहयका लागि विद्युत् महशुल छुट गरिएको हो ।