६ बैशाख २०८१, बिहीबार

तरकारी खेतीले चिनिएको ‘बेलडाँडी’

farming polyhouse tunnel scaled

वन क्षेत्रले घेरिएको शुक्लाफाँटा नगरपालिका–८ स्थित ‘बेलडाँडी’ तरकारी खेती हुने गाउँमा परिचित छ । गाउँका अधिकांश व्यक्ति बाह्रै महिना तरकारी खेती गर्छन् । तरकारी खेती गर्नेमा जनजाति समुदायका व्यक्तिको बाहुल्यता छ । जसमा महिला अग्रस्थानमा छन् ।

बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म यहाका बासिन्दा तरकारी बारी स्याहार्न, तरकारी टिप्न र बजारमा लगेर बेच्नछन् । खेत र बारीमा लटरम्म गोलभेँडा, काउली, ब्रोकाउली, बन्दागोभी, आलु, प्याज, लहसुन, खुर्सानी लगायत तरकारी फलेका छन् । गाउँका बासिन्दाले तरकारी खेतीबाट कमाएको पैसाले परिवारको खर्च धान्ने गर्छन् ।

तरकारी खेती नहुँदा विगतमा यहाँका युवा रोजगारीका लागि भारतसँगै बाह्य मुलुकमा जाने गरेका थिए । तरकारी खेती गर्ने तौरतरिका सिकेपछि यहाँका बासिन्दाले तरकारी खेतीलाई व्यावसायिक बनाएपछि बाह्य क्षेत्रमा रोजगारीका लागि जाने युवा गाउँमै तरकारी खेतीमा परिवारसँगै संलग्न हुन थालेका छन् । परम्परागत रूपमा तरकारी खेती गर्दा परिवारका लागिसमेत खान पुग्दैनथ्यो । हाल खेतबारीमा उत्पादन गरेको तरकारी खेतीबाट घरका लागि मात्रै हैन स्थानीय बजारमा बेचेर स्थानीय बासिन्दाले मनग्य आम्दानी लिन थालेका छन् ।

दैनिक गाउँबाट १६ क्विन्टल तरकारी बजारमा बिक्री हुने गरेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत मनकामना आलु तरकारी ब्लक समिति गठन भएपछि यस गाउँका बासिन्दाले आधुनिक र व्यावसयिकरूपमा तरकारी खेती गर्न थालेका छन् । सबैको घरघरमा तरकारी खेतीका लागि प्लाष्टिकका टनेल बनाइएका छन् । खेत जोत्नका लागि गोरुको ठाउँमा पावर टिलरको व्यवस्था गरिएको छ । सिँचाइका लागि घरघरमा विद्युतीय मोटर र पम्पसेट जडान गरिएका छन् ।

कृषि औजार उपकरणको प्रयोग गरी व्यावसायिक तरकारी खेती हुँदै आएको छ । परियोजना अन्तर्गत दुई वर्षदेखि निरन्तर रूपमा कृषि औजार र उपकरणका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरमार्फत अनुदान रकम उपलब्ध गराइँदै आएको राधान चौधरीले बताउनुभयो । बेलडाँडी गाउँका तरकारी खेतीमा संलग्नहरूको वार्षिक आम्दानी रु पाँच लाखदेखि रु १५ लाखभन्दा बढी हुने गरेको उहाँको भनाइ छ । यहाँका युवा विगतमा परिवारको खर्च चलाउनकै लागि वैदेशिक रोजगारी र मजदूरीका लागि भारतमा जाँदै आएका थिए । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा यसमै रमाउन थालेका छन् । “तरकारी खेती हुन थालेपछि वैदेशिक रोजगारीमा जान हुरुक्क हुने युवासमेत गाउँमै तरकारी खेतीमा लागेका छन् ।

तरकारी खेतीबाटै सोचेजस्तो आम्दानी हुन थालेपछि विदेशिने सोच बनाएकाहरू रोकिएका छन्”, मीना चौधरीले भन्नुभयो, “विगतमा हूल नै बाँधेर भारततर्फ जानेको लर्को नै लाग्ने गरेको थियो । त्यो तरकारी खेतीले रोकेको छ ।”सिँचाइका लागि पम्पसेट विद्युतीय मोटर नभएकाहरूले कुलोको पानी सिँचाइ गर्न पालो मिलाउने गरिएको छ । सिँचाइको कुलोबाट पानी लगाउन विलम्ब भए धेरैले घरमै जडान गरेको विद्युतीय मोटरबाट पानी तानेर सिँचाइ गर्ने गरेका छन् । तरकारी खेतीमा संलग्न किसानको एउटै दुःखेसो छ । त्यो भनेको तरकारी उत्पादन भएपछि बेच्ने झन्झट ।

केही तरकारी गाउँमै हुने विवाह, भोज भतेरमा खपत हुने गरेको छ । बाँकी रहेको तरकारी बेच्नका लागि टाढाको धनगढी, अत्तरिया र महेन्द्रनगरसम्म पु¥याएर व्यापारीले तय गरेको दर रेटमै बेच्नुपर्ने हुन्छ । विचौलियाहरूले तरकारी बजारमै सस्तोमा तरकारीको बोली लगाई खरीद गर्ने भएकाले कुनै बेला लागतसमेत नउठ्ने भएकाले बेचेर फर्कनुपर्ने अवस्था रहेको किसानको गुनासो छ । यहाँका किसानले गाउँमै तरकारी सङ्कलन केन्द्रको व्यवस्था गरी बिक्री वितरणको व्यवस्था गरी दिन माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यस वर्ष रु १० र त्यसमा किसानले रु १० लाख थपेर तरकारी खेतीका लागि मल्चिङ, हजारी, ग्रिननेट, सिलपोलिङ र थोपा सिँचाइको व्यवस्था गरेका छन् ।

किसानलाई बाह्रै महिना तरकारी खेती गर्न सहजताका लागि ३५ वटा पोलिहाउस समेत निर्माण गरिएको छ । १६ जनालाई ग्रिन नेट र २० जनालाई मल्चिङ प्रविधिको खेतीमा आबद्ध गराइएको छ । गत वर्ष परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्रको अनुदान रकम रु २३ लाख ७३ हजार ८५१ र स्थानीय किसानको श्रमदान रु २५ लाख ९० हजार ७३० गरी रु ५० लाख ८९ हजार ५२१ मनकामना आलु तरकारी ब्लक समितिलाई उपलब्ध गराइएको थियो । जसबाट किसानले बोरिङ, प्लाष्टिक टनेल, क्रेट, स्प्रे ट्याङ्की, सिलपोलिन, बीउबिजन, पावर टिलरलगायत खरीद गरेका थिए ।

ब्लकमा आबद्ध ५० जना किसान आबद्ध छन् । तरकारी खेतीको उत्पादन बढाउनका लागि र रोग किराको प्रकोप हुन नदिनका लागि किसानले तालीम समेत लिएका छन् । पाँच कट्ठादेखि एक बिघा जग्गा मारी ब्लकमा आबद्ध किसानले ५० बिघा जग्गामा तरकारी खेती गरेका छन् ।