fbpx
१८ फाल्गुन २०७७, मंगलवार

भोगाइले अभियानकर्मी बनेका महिला

सांकेतिक तस्विर

कैलालीको जानकी गाउँपालिका–८ की निर्मला विक ४० वर्षको हुुनुभयो । निर्मलाका चार छोरी र एक छोरा गरी पाँच बच्चा हुर्किसकेका छन् । निर्मलाले विवाहबारे ज्ञान नहुँदै १५ वर्षमैै विवाह गर्नुभयो ।

सानै उमेरमा विवाह गरेकी निर्मलालाई घरधन्दा खासै आउँदैनथ्यो, उहाँलाई घर सम्हाल्न निकै कठिन भयो । विवाहलगत्तै उहाँ गर्भवती हुनुभयो र १६ वर्षमै आमा बन्नुभयो । सानै उमेरमा बच्चा जन्माएकी निर्मलालाई बच्चाको स्याहारसुसार कसरी गर्ने थाहा थिएन । “बच्चालाई कस्तो खाना खुवाउने, कस्तो खाना पोषिलो हुन्छ भन्नेसमेत थाहा नभएकी मैले बच्चालाई राम्ररी हुर्काउन सकिनँ”, उहाँ भन्नुहुन्छ, “पोषिलो खाना र स्वास्थ्यबारेमा ज्ञानसमेत नभएकी मलाई परिवार नियोजनका साधनबारे थाहा पाउने कुरै भएन, मैले २२ वर्ष पुग्दा चार छोरी जन्माइसकेकी थिएँ ।”

निर्मलाले आफ्नो होइन घरपरिवारको इच्छा पूरा गर्न आफ्नो स्वास्थ्यको पर्वाह नगरी बच्चा जन्माइरहनुभयो । कलिलो उमेरमा बच्चा जन्माउनाले निर्मलालाई दोस्रो सन्तानको जन्मपछि निकै समस्या भयो । उहाँले लामो समयसम्म रक्तस्रावको समस्या भोग्नुभयो, तर पनि निर्मलाले पाँचौँ सन्तानका रूपमा छोरालाई जन्म दिनुपर्यो । छोराछोरी धेरै भएकाले बच्चाको आवश्यकता पूरा गर्न आर्थिक समस्याले सताएको उहाँले बताउनुभयो । “परिपक्व भएर विवाह गरेको भए धेरै बच्चा जन्माउने थिइनँ”, उहाँले भन्नुभयो, “बालविवाह गरेकै कारण मैले धेरै पीडा सहनुपर्यो, त्यसैले अहिले म बालविवाहविरुद्धको अभियानमा सहभागी भइरहेकी छु ।”

निर्मला अहिले बालविवाहविरुद्धको अभियानकर्मीका रूपमा काम गरिरहनुभएको छ । “मैले धेरै पीडा भोगेकाले मेरा छोरी, बहिनी तथा छिमेकमा कसैले समस्या भोग्न नपरोस् भनी अभियानमा लागेकी हुँ । म बालविवाह भइरहेको थाहा पाए रोक्छु”, उहाँले भन्नुभयो । निर्मला हाल जानकी–८ मा गठित मिलीजुली सञ्जालमार्फत बालविवाह न्यूनीकरणका काममा लागिरहनुभएको छ । त्यतिमात्र होइन उहाँले विभिन्न बालक्लबमा गएर बालविवाह, बालविवाहका बेफाइदाबारे समेत सचेतना फैलाउने काम गरिरहनुभएको छ ।

जानकी गाउँपालिका–३ लायकपुरकी मोतिकला विकको पनि १५ वर्षको उमेरमै विवाह भयो । सानै उमेरमा विवाह गरेकी मोतिकला पनि अहिले कम उमेरमा हुने विवाह न्यूनीकरणको अभियानकर्मी भएर काम गरिरहनुभएको छ । मोतिकला पनि १६ वर्षकै कलिलो उमेरमा आमा बन्नुभयो । राम्रो स्याहार गर्न नसकेका कारण मोतिकलाको बच्चा कुपोषित भयो । “बच्चा स्वस्थ नभएपछि निकै समस्या भयो । बच्चाको उपचार निरन्तर गर्नुपर्दा आर्थिक सङ्कट पनि भयो”, उहाँ भन्नुहुन्छ, “२० वर्ष पुगुञ्जेल चार बच्चा जन्मिए । बच्चाको राम्रोसँग स्याहार गर्न नजान्दा मेरा दुई बच्चाको मृत्यु भयो ।”

मोतिकलाको स्वास्थ्यमा अहिले पनि समस्या छ । “ढाड दुखिरहन्छ, गह्रौँ काम गर्न सक्दिनँ”, उहाँले भन्नुभयो, “अहिले म ३५ वर्षकी भए । अहिले म आफूले भोगेको पीडा अरुले नभोगुन् भनी कम उमेरमा गरिने विवाहविरुद्धमा छु ।” आमा समूह, हातेमालो सञ्जालमार्फत कम उमेरमा हुने बालविवाह रोक्ने अभियान चलाइरहेको उहाँले बताउनुभयो । “महिला दिदीबहिनीबीच कम उमेरमा हुने विवाह र अन्य महिलाका स्वास्थ्य समस्याबारे छलफल गर्छौँ”, उहाँले भन्नुभयो ।

जानकी–३ की ३६ वर्षीया लक्ष्मी चलाउनेको पनि कम उमेरमै तानी विवाह (जबर्जस्ती) भयो । इच्छा नहुँदै भएको विवाहपछि उहाँले कलिलै उमेरमा घरको जिम्मेवारी सम्हाल्नुपर्यो । पछिल्लो समय कुलतमा लागेका बालबालिका अरुको लहलहैमा लागेर कम उमेरमै घरजम गर्ने चलन बढेकाले अभिभावक सचेत बन्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँ आशा किरण समूह पुनःस्थापना केन्द्रको उपाध्यक्ष भएर काम गरिरहनुभएको छ । “अहिले त जबर्जस्ती गरिने होस् या कम उमेरमा गरिने विवाहलाई कानूनले अपराध मानेको छ”, उहाँले भन्नुभयो, “हामीले जीवनमा दुःख भोग्यौँ, अरुले यस्तो भोग्ने दिन आउन दिन्नौँ ।”

जानकी–७ की अप्सरा विकको पनि १४ वर्षको कलिलै उमेरमा विवाह भएको हो । कम उमेरमै विवाह गरेकी अप्सराका तीन बच्चा छन् । उमेरै नपुगी सानै उमेरमा विवाह भएको उहाँले नौ वर्षसम्म मात्र श्रीमान्सँग बस्न पाउनुभयो । विवाह भएको नौ वर्षमै श्रीमान्को मृत्यु भएपछि उहाँ एक्लैले तीन बच्चाको जिम्मेवारी लिनुपर्यो । “घरमा कमाउने मानिस कोही छैन, एक्लै छु मजदुरी गरेर बच्चा पालिरहेकी छु”, उहाँ भन्नुहुन्छ, “पढीलेखी परिपक्व भएर विवाह गरेको भए रोजगारी पाउँथे, अहिले आफू र बच्चाको पालनपोषणमा सहज हुन्थ्यो ।”

अप्सराले शारीरिक, मानसिक सबैखाले हिंसा सहनुपर्यो । गरिबी र चिन्ताले उहाँको मनमा गलत विचार आउँथे तर बालबच्चा भएकाले कमाउनुपर्ने, खुवाउनुपर्ने भयो, त्यसैले उहाँ आमा समूहमा कम उमेरमा हुने विवाहसम्बन्धी छलफल गर्ने र सचेतना फैलाउने काम गरिरहनुभएको छ ।

यी महिला त उदाहरण मात्र हुन् । यस्ता धेरै महिला बालविवाह गरेर यस्ता खालका समस्या भोग्न बाध्य छन् । आफूले भोगेजस्तै पीडा अरु महिला दिदीबहिनीले भोग्न नपरोस् भनी जागरुक हुनसमेत थालेका हुन् । पछिल्लो समय बालबालिकाको क्षेत्रमा धेरै सङ्घसंस्था र स्थानीय तहले पनि काम गरिरहेको अवस्था छ । जानकी गाउँपालिकाले सङ्घसंस्थासँगको सहकार्यमा बालविवाहसम्बन्धी बालबालिकालाई सचेत बनाउने उद्देश्यले बालक्लब गठन, बाल संरक्षण समिति नै बनाएर काम गरिरहेको छ । बालक्लबले बालअधिकार, बालदुव्र्यवहार, बालविवाहलगायतका विषयमा छलफल चलाउने गरेको छ भने बाल संरक्षण समितिले अन्याय परेकालाई न्यायको दैलोसम्म लैजान सकिने भनेर छलफल गर्ने, बालअधिकारसम्बन्धी कानूनी प्रावधानका बारेमा जानकारी गराउनेलगायतका काम गरिरहेको बाल सहजकर्ता तुलसी भाटले बताउनुभयो । “हामीले जानकी गाउँपालिकाका वडाहरुमा बालक्लब गठन गरेका छाँै”, उहाँ भन्नुहुन्छ, “बाल संरक्षण समिति पनि बनाएका छाँै, जसले गर्दा बालबालिकाको क्षेत्रमा काम सजिलो भएको छ ।”

बालविवाहका कारण धेरै महिला तथा किशोरीले समस्या भोग्नुका साथै आत्महत्या गर्न बाध्य भएको घटना पनि थुप्रै देखिने गरेको पाइन्छ । कानूनीरूपमा बालविवाहलाई मान्यता नदिए पनि अझ पनि गाउँमा बालविवाह गरिरहेको अवस्था छ । इलाका प्रहरी कार्यालय टीकापुरले आत्महत्या गर्नेमा कम उमेरका महिला बढी रहेको बताएको छ । प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म दुईवटा बालविवाहका मुद्दा चलाएको छ । “हामीले तीनवटा विवाह गरेका कम उमेरका केटाकेटीलाई सम्झाइबुझाई अभिभावकको जिम्मा लगाएका छौँ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भन्नुभयो, “एउटा विवाह भइरहेको थियो, ग्रामीण महिलाले सूचना दिएपछि हामीले मण्डपमै गएर बदर गर्न लगायौँ ।”

प्रहरीका अनुसार समाजमा बालविवाह धेरै छ । प्रहरी नायब उपरीक्षक न्यौपाने समाजले बालविवाहलाई स्वीकृति दिएकै कारण कम उमेरमा हुने विवाह न्यूनीकरणमा समस्या भएको बताउनुहुन्छ । “हामीले विद्यालय र टोलमा गएर बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्रहरीले स्थानीय सरकारसँग मिलेर अभियान चलाइरहेको छ । हाम्रो अभियानमा स्थानीय जनप्रतिनिधिको पनि सहकार्य छ ।”

कैलालीको टीकापुर नगरपालिकाले बालविवाह रोक्नका लागि ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिकाभित्र जन्मेका छोरीको बैँक खाता खोलेर वार्षिक रु एक हजार राखिदिने गरेको छ । “समयमै छोरीको जन्मदर्ता होस् र उनीहरुलाई सचेत बनाउन सकियोस् भन्ने उद्देश्यले छोरीको नाममा खाता खोल्न थालिएको हो”, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी रावल विष्टले भन्नुभयो, “छोरीको महत्व बुझाउने अभियान हो । यसका साथै छोराछोरीबीचको विभेद अन्त्य गर्न सचेतना फैलाउने खालका अन्य कार्यक्रमसमेत गरिरहेका छौँ ।”