१५ चैत्र २०८०, बिहीबार

१० खेलमा ४३ गोल गर्ने सावित्रा घाइते, बाँकी खेल गुमाउने

sabitra bhandari e1613462109359

खेलका क्रममा घाइते हुनुभएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउनु हुनेभएको छ ।

एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गर्नुभएकी भण्डारी सोमबार नेपाल पुलिस क्लब विरुद्धको खेलमा घाइते हुनुभएको थियो । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उहाँ घाइते हुँदै मैदानबाट बाहिरिनुभएको हो । उहाँको खुट्टामा चोट लागेको छ ।

एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदान बाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिनुभयो । हरेक जसो खेलमा गोल गर्दै आउनुभएकी भण्डारीले सोमबार भने गर्न सक्नु भएन । उहाँले हालसम्म १० खेलमा ४३ गोल गर्नुभएको छ । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ ।

एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।