fbpx
२३ फाल्गुन २०७७, आईतवार

हिमाली जिल्ला डोल्पाका दलित महिलालाई छाक टार्नै मुस्किल

फाइल फोटो

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, मल बोक्नेलगायतका काम गरेर पनि बिहान बेलुकीको छाक टार्न धौधौ पर्ने गरेको उनीहरुको गुनासो छ ।

“पढ्ने लेख्ने कलिलै उमेरमा बिहे गराइदिए, घरमा कसैको रोजगारी छैन, एक छाक टार्न पनि दशपटक सोच्नुपर्ने बाध्यता छ”, त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने कलमी सार्कीले भन्नुभयो । “बिहान–बेलुकी छाक टार्नकै लागि दैनिक मजदुरी नगरी सुख छैन, एक छाक खान र एकसरो लगाउन रातदिन नभनी ढुङ्गा–माटोसँग खेल्नुपर्ने बाध्यता छ ।”

गरिबीकै कारण औषधोपचार गर्ने पैसा नपाएर घर नजिकै बस्ने एक छिमेकी महिलाको आँखै अगाडि मृत्यु भएको भन्दै सार्कीले दःुख व्यक्त गर्नुभयो । दलितलाई ढुङ्गा कुटेर पनि खान नपुग्ने र पढेलेखेकाले पनि जागिर नपाउने अवस्था अझै नछुटेको स्थानीयवासी गीता सार्कीले बताउनुभयो ।

त्यसैगरी अर्की रुप्सी सार्कीको पीडा पनि उस्तै छ । खाइनखाई अर्काको मजदुरी गरेर पढाएका छोराछोरी पनि जागिर नपाएर अर्काकै मजदुरी गर्न बाध्य भएको बताउनुभयो । “बाबुआमाको जस्तै दैनिक मजदुरी गरेर खानुपर्ने अवस्था नआओस् भन्दै शरीरलाई रातदिन पिसेर छोरालाई कक्षा १२ पास गराएँ, अहिले त्यही छोरो सानोतिनो जागिर पनि नपाएर मजदुरीमै लाग्न बाध्य भयो, दलितलाई पढेलेखेर पनि के काम छ”, उहाँले गुनासो गर्नुभयो ।

दुर्गम ठाउँका पढेलेखेका दलित शक्ति र पहुँच नभएकै कारण जागिरको आशा मारेर मजदुरीमै लाग्न बाध्य हुने गरेको उहाँको भनाइ छ । “पाखुरामा बल हुञ्जेल त दैनिक मजदुरी गरेर आफू र आफ्नो परिवारको पेट पालौँला, भोलि बुढेसकालमा कसरी छाक टार्ने त्यही कुराको ठूलो पिरलो छ”, उहाँले भन्नुभयो ।

कलमी र रुप्सी प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका जुफाल दुनै, त्रिपुराकोट, ल्हालगायतका विकट गाउँबस्तीमा बसोबास गर्ने अधिकांश महिलाको पीडा एउटै हो । सानै उमेरमा बिहे गरेर धेरै सन्तान जन्माउने कारणले अधिकांश महिलालाई पाठेघर खस्ने समस्यासमेत देखिएको दलित अगुवा बमबहादुर सार्कीले बताउनुभयो ।

कमजोर अर्थावस्था भएकै कारण दुर्गमका दलित महिला उपचार गर्नुको सट्टा रोग लुकाएर बस्ने गरेको सार्कीले बताउनुभयो । “जिल्लाका अधिकांश दलितको जग्गा केही टुक्रा मात्र छ, त्यसमा उत्पादन पनि नगन्य मात्र हुन्छ, त्यसैले पनि कतिपय दलित अझै पनि माथिल्लो जातसँग खलो थापेर पुस्ता धानिरहेका छन्”, उहाँले भन्नुभयो ।

गाउँमै सरकार भए पनि दलित महिलाको जीवनस्तर उकास्नका लागि अहिलेसम्म कसैले पनि सहयोग नगरेको सार्कीको भनाइ छ । गरिबीले ग्रस्त जीवन झेल्दै दलित महिलाको जीवनलीला समाप्त हुने गरेको दलित अगुवाहरुको जिकिर छ । देशमा जति व्यवस्था परिवर्तन भए पनि ग्रामीण भेगका दलित अझै पनि रोग, भोक र शोकले ग्रस्त भएको उनीहरुको भनाइ छ ।