१४ बैशाख २०८१, शुक्रबार

अधिकांश सङ्क्रमित काठमाडौँ उपत्यकामा

corona insurance

पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमित मध्ये अधिकांश काठमाडौँ उपत्यकाका छन् । बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमित मध्ये काठमाडौँ उपत्यकाका ७३ छन् ।

हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ । अझै पनि काठमाडौँमा एक हजार सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १४४ छन् । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । कोरोना मुक्त हुनेको दर ९८.७ प्रतिशत पुगेको छ । बितेको २४ घन्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट दुई हजार ५५ जनाले ज्यान गुमाएका छन् ।