१४ बैशाख २०८१, शुक्रबार

मालपोत कार्यालय लगनखेलमा कार्यरत नायब सुब्बाले घुस लिएको अभियोगमा मुद्दा

ciaa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्शाअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउने भन्दै उनीहरुले रु ४० हजार घुस मागेको पाइएको छ । उनीहरुले घुसका अलावा एक बोतल मदिरा लिएको पाइएको आयोगको अभियोगमा उल्लेख छ । आयोगले उनीहरुविरुद्ध रु ४७ हजार ८५० बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

यस्तै आयोगले स्रोत नखुलेको रु एक लाख ९० हजार नगदसहित बागमती प्रदेशमा दर्ता भएको एक सवारी साधन सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठलाई पक्राउ गरेको छ । स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा निमित्त कार्यालय प्रमुख श्रेष्ठलाई सैनामैना नगरपालिका १० रुपन्देहीको पूर्व–पश्चिम राजमार्गको कोठो वनबाट नियन्त्रणमा लिइएको आयोगको भनाइ छ । आयोगले गत माघ २९ गते पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिनुभयो ।