१५ चैत्र २०८०, बिहीबार

‘देश समृद्ध बन्न महिला समृद्ध हुनुपर्छ’

juli mahato
फाइल फोटो

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले समाजको समृद्धि त्यहाँको महिलाको सुख, समृद्धि र खुशीलाई हेरेर वर्णन सकिने बताउनुभएको छ । मन्त्री महतोले कुनै देश वा समाजलाई समृद्ध बनाउन त्यहाँका महिला समृद्ध हुनु आवश्यक रहेको बताउनुभयो ।

जनकपुरधाममा शुरु भएको महिला हस्तकला मेला तथा प्रदर्शनी उद्घाटन समारोहमा मन्त्री महतोले भन्नुभयो, “यस्ता किसिमको प्रदर्शनीले महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउन केही हदसम्म सहयोग पु¥याउने छ ।” उहाँले महिलाहरूको सीप तथा कला प्रदर्शनीका लागि स्थानीय तहलाई समेत महिला उद्यम तथा महिलालाई आत्मनिर्भर बनाउने किसिमको विभिन्न किसिमका योजनाहरु ल्याउनुपर्ने बताउनुभयो ।

मन्त्री महतोले महिलालाई आफ्नो सीपको प्रदर्शन गर्ने एउटा थलोका रुपमा प्रदर्शनीको व्यापक प्रचार प्रसार हुनुपर्ने बताउनुभयो । तीन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा शुरु भएको हो । यस प्रदर्शनीमा प्रदेश २ का आठवटै जिल्लाका महिला उद्यमीको सहभागिता छ । मेलामा कूल ५० वटा कक्ष राखिएको छ ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्र शाक्यले महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरूको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । प्रदर्शनीमा मिथिला चित्रकला, बाँसका कलात्मक भाँडावर्तन, माटाका भाँडा, सुतीका कपडालगायत सामग्रीहरू राखिएका छन् । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको यस प्रदर्शनी अवलोकनका लागि २५ हजारभन्दा बढी आगन्तुक आउने अनुमान गरिएको छ ।