१३ बैशाख २०८१, बिहीबार

१०३ ग्राम तौल भालुको पित्तसहित पक्राउ

bhaluko pitta

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सङ्खुवासभा जिल्ला चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाइछिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई पित्तसहित फेला पारी पक्राउ गरेको हो । बरामद भालुको पित्त प्रतिग्राम रु २५ हजारका दरले बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यसैबीच काठमाडौँको टोखा नगरपालिका–१० डेरा गरी बस्ने गोरखा अजिरकोट गाउँपालिका–२ का ३८ वर्षीय चिजकुमार गुरुङलाई २२२ ग्राम लागुऔषध एम्फेटामाइन र एक थान लागुऔषध तौल गर्ने डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले टोखा नगरपालिकामा उनको साथबाट १० ग्राम र अनुसन्धानको क्रममा उनकै कोठाबाट थप २१२ ग्राम लागुऔषध फेला पारेको ब्यूरोले जनाएको छ ।