२८ बैशाख २०८१, शुक्रबार

जग्गा विवादले बाल उद्यान अलपत्र

1603854326121209251 3477455945645191 227

जग्गा विवादका कारण राजविराज नगरपालिका–१ पड्रियामा निर्माणाधीन बाल उद्यान लामो समयदेखि अलपत्र परेको छ । स्थानीय तहले जग्गा विवादको गाठो नफुकाइदिँदा उद्यान निर्माणको अवधि सकिए पनि अहिलेसम्म करिब पाँच प्रतिशत पनि काम हुन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजले जनाएको छ ।

“उद्यान निर्माणका लागि नगरपालिकाले दिएको ऐलानी जग्गामा पटक–पटक काम गर्न गए पनि स्थानीयवासीले जग्गाको विषयमा विवाद सिर्जना गर्दा काम अघि बढ्न सकेको छैन”, सघन शहरी तथा भवन निर्माण आयोजन राजविराजका इञ्जिनीयर मदन रायले भन्नुभयो, “निर्माणस्थलमा देखिएको जग्गा विवादको गाठो फुकाइदिन पटक–पटक राजविराज नगरपालिकाका प्रमुख तथा वडाध्यक्षलाई लिखित र मौखिकरूपमा आग्रह गर्दासमेत अझै जग्गा विवाद सुल्झिन सकेको छैन ।” जग्गा विवादकै कारण काम गर्न कठिनाइ हुँदै आएको उहाँ भनाइ थियो ।

“स्थानीयवासीले कहिले सडक कम भयो भन्छन् त कहिले उद्यानको क्षेत्रफल कम भयो भन्छन्”, सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख सुरेन्द्र साहले भन्नुभयो, “हामीले काम गर्न खोज्छौँ कि विभिन्न बहानामा अवरोध हुँदै आएको छ, जसका कारण काम गर्न नसक्ने अवस्था देखिएको छ ।” तर समस्या समाधानतर्फ स्थानीय जनप्रतिनिधि अग्रसर नदेखिएको उहाँको गुनासो छ ।

राजविराजस्थित हटियाबजारसहितको प्याकेज योजनाअन्तर्गत नै निर्माणाधीन बाल उद्यान निर्माणका लागि रसुवा÷रोशन जेभी जनकपुरले ठेक्का लिएको छ । गत २०७४ पुस २८ गते निर्माण सम्झौता भएको उद्यान निर्माणको काम २०७७ पुस २७ मै सकिनुपर्ने थियो । निर्माणस्थल वरिपरिका स्थानीयवासीले जग्गाको विवाद झिकेर अवरोध पु¥याउँदै आएका कारण उद्यान निर्माण अन्योलमा परेको बताइएको छ ।

राजविराज–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले उद्यान निर्माणमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको र छिट्टै निकास निस्किने जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार...