१४ बैशाख २०८१, शुक्रबार

अभिनेत्री ज्याकलीनको फिटनेस मन्त्र (तस्बिर सहित)

collage scaled

फिटनेस मन्त्र
ज्याकलिन फर्नान्डेज युवापुस्तामाझ निकै नै लोकप्रिय बलिउड अभिनेत्री हुन् । पछिल्लो समय दमदार अभिनयका कारण चर्चित उनी निकै सुन्दर छिन् । श्रीलंकामा जन्मेकी उनी दुई कुराले चर्चित छिन्– एक उनी कसैको आड नलिई फिल्मी क्षेत्रमा लागिन् र दोस्रो भनेको उनी आफ्नो स्वास्थ्यबारे निकै चनाखो छिन् । सुगठित शरीरकी धनी ज्याकलिन फिटनेस कन्सस छिन् । फिल्म र टेलिभिजन विज्ञापन खेल्नुका अलवा योग र अर्गानिक जुसको विज्ञापन गर्नु जस्ता कुराले उनको स्वास्थ्यप्रतिको लगाबलाई छर्लङ्ग पार्छ ।

सन् २०११ मा इमरान हासमीको अपोजिट ‘मर्डर–२’बाट बलिउड डेब्यु गरेकी थिइन् ज्याकलिनले । यसपछि उनले लगालग हाउसफुल–२ र ३, ढिस्सूम, किक र रेस–२ मा आफ्नो अभिनय प्रस्तुत गरिन् । फिल्मी स्टार भइकन् उनी खानपानमा पनि निकै सजग छिन् । खनापानको व्यवसायमा रुचि राख्ने उनले कोलम्बोमा एक रेस्टुराँ खरिदसमेत गरेकी छन् । किमा सूत्र नामको उनको रेस्टुराँले टिपिकल श्रीलंकाली खानेकुरा बेच्दै आइरहेको छ । सन् २०१४ मा उनले अर्गानिक फुड क्याफे खोल्न ठाउँ खोज्दै गरेको खबर आएको थियो तर पछि त्यो योग केन्द्रका रुपमा रुपान्तरित भयो ।

योग प्रेम

एक टेलिभिजन अन्तर्वार्तामा ज्याकलिनले आफू प्रायः जिमखाना धाइरहने बताएकी थिइन् । ‘म दिनमा कम्तिमा एक घन्टाजति व्यायाम गर्छु,’ उनले भनेकी छन्, ‘सधैं एकैनासको व्यायाम भने गर्दिनँ तर योग, जिम, डान्स र केही किसिमका कार्डियो भने गरिरहन्छु ।’

उनी थप्छिन्, ‘तपाईंको व्यायाम गर्ने तालिका बोझिलो हुुनुहुँदैन । व्यायाम बोझिलो हुँदा तपाईंको मन व्यायाममा नभई अन्यत्र जान सक्छ । दैनिक रुपमा कम्तिमा एकघन्टाको व्यायाम गर्दा तपाईं आफूलाई खुसी, स्वस्थ र तन्दुरुस्त राख्न सक्नुहुन्छ । तपाईंले कस्तो प्रकारको खाना खानुभयो भन्ने कुराले पनि तपाईंको व्यायामलाई असर गर्छ । म मेरो खानेकुरामा मलाई चाहिने पूर्ण डाइट लिन्छु । म मेरो खानेकुरामा फ्याट, काब्र्स र अन्य पोषण कत्तिको रहेको छ सदैव ख्याल गर्छु । अझ सरलमा भन्नुपर्दा म आफूले खाने कुराहरु कत्तिको स्वस्थ छन् निगरानी गर्छु ।’

यदि तपाईंले ज्याकलिनको इन्स्टाग्राम फिड हेर्नुभयो भने उनी आफ्नो खानपानमा कत्तिको सजग छन् भनेर बुझ्न सक्नुहुन्छ । उनले टोनी जुस, जमराको जुस लगायतका पेय पदार्थका तस्बिरहरु समेत पोस्ट गरिरहेकी हुन्छिन् । ‘योग अभ्यासले मलाई निकै सहयोग पुर्याएको छ । मेरो शरीरलाई बलियो पनि बनाएको छ । तपाईंले आफूलाई मनपर्ने व्यायाम गर्नुभयो भने तपाईं रमाउन पनि सक्नुहुन्छ । तपाईंले आफ्नो मुटुलाई स्वस्थ राख्ने किसिमको कम्तिमा एउटा व्यायाम गरेमा निकै फलदायी हुन्छ । गुणस्तरीय खानपानसँग तपाईंले व्यायामलाई जोड्नुभयो भने त्यो निकै राम्रो हुन्छ । अर्को कुरा पानी । पानी तपाईंले धेरैभन्दा धेरै पिउन आवश्यक हुन्छ । जिमखानाको समय रमाइलो बनाउन तपाईंले विचार मिल्ने साथीहरुको छनोट गरेर साथीभाइसँग जिम जाँदा रमाइलो हुन्छ,’ ज्याकलिनको सुझाव छ ।

‘वुमन हेल्थ’ म्यागेजिनको आवरणमा छाउँदा पुमा स्र्पोट्स सु र वर्कआउट गिएर पहिरिएकी उनी युवा पुस्ताको लागि गतिलो रोलमोडल समेत हुन् । उनको फिटनेस फर्मुलाले धेरै युवालाई स्वस्थ रहन प्रेरित गरेको बताइन्छ । आफूलाई मनपर्ने व्यायामबारे बोल्दै ज्याकलिन भन्छिन्, ‘विभिन्न कार्डियोलाई योगसँग मिसाएर गर्न मनपर्छ मलाई । नाच्नु मेरा लागि सबैभन्दा रमाइलो र मनपर्ने व्यायाम हो ।’ ज्याकलिनको जस्तै व्यायाम गर्न तपाईंले उनको इन्स्टाग्राम फिडलाई प्रेरणा रुपमा हेर्नसक्नु हुन्छ । उनले इन्स्टाग्राममा उनले आफूले व्यायाम गर्दै गरेका भिडियोहरु बारम्बार पोस्टिदै आइरहेकी छन् ।

खानपान

केही पहिलेको एक अन्तवार्तामा ज्याकलिनले यदि आफू वजनदार भएमा कहिल्यै सुत्न नसक्ने बताएकी थिइन् । गहुँगोरो वर्णकी ज्याकलिन आफूलाई स्लिम र फिट राख्न खानपानबारे सदैव सचेत हुन्छिन् । माछामासुका अतिरिक्त सागपात निकै खान्छिन् उनी । खानपानमा उनले सागसब्जी, फलफूल, ब्राउन राइस र सुप तालिका बनाएर पिउँछिन् । सुसी र सालमोन उनको डाइटका मुख्य परिकार हुन् । बियाँ र ड्राई फ्रुट्स निकै खाने उनी चिनी कम खान्छिन् । यति हुँदाहुँदै पनि उनी चकलेट र पिज्जा खान भने मरिहत्ते गर्छिन् । आफूलाई भोक लागेको समयमा मात्र खानेकुरा खाने उनी पानी भने निकै पिउँछिन् ।

jacqueline fernandez 3
jacqueline fernandez 2
jacqueline fernandez 1
jacqueline fernandez 9
jacqueline fernandez 5
jacqueline fernandez 10
jacqueline fernandez 4
jacqueline fernandez 8
jacqueline fernandez 6
jacqueline fernandez 7