१३ बैशाख २०८१, बिहीबार

सङ्खुवासभा समाचारः धावनमार्गको मर्मत शुरु, साना जहाजले मात्र उडान भर्दै

tumlingtar airport

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार शुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट भइरहेको ठूला जहाजको उडान बन्द भएको छ ।

तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट नियमित उडान थालेको छ । धावनमार्गको मर्मतका लागि ठूला जहाजको उडान भने बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको धावनमार्गको मर्मत कार्य आगामी चैत २ गतेसम्म चल्ने छ । त्यतिन्जेल आधा धावनमार्गको प्रयोग गरी साना जहाजबाट भने उडान हुनेछ ।

पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्वाध उडान भइरहेको विमानस्थल हो । बुद्ध एयरले समेत एक महिनाका लागि काठमाडौं–तुम्लिङटार रुटको उडान बन्द भएको जानकारी गराएको छ । ट्वीनअटर जहाजबाट उडान गर्दा यात्रुलाई आवतजावतमा समस्या भएको छ ।

विमानस्थलको धावनमार्गको कालोपत्र खाल्डाखुल्डी पर्ने र उप्किएपछि जहाज उडानमा खतरा पर्ने देखेपछि मर्मत गर्ने काम शुरु भएको हो । एक वर्षअघि २०७६ चैत ३ देखि धावनमार्ग मर्मत गर्न एपेक्स कन्ट्रक्सन कम्पनीलाई ठेक्का दिए पनि विश्वभर फैलिएको कोरोना भाइरसका कारण धावनमार्गको मर्मत काम हुन सकेको थिएन । गत कात्तिकदेखि धावनमार्ग मर्मतको काम शुरु गरिएको एपेक्स कन्ट्रक्सन कम्पनीका प्रतिनिधि लालध्वज लामाले जानकारी दिनुभयो ।

उहाँले तुम्लिङटार विमानस्थलको धावनमार्गको काम दुई महिनाभित्र सक्ने गरी दिनरात पाँच दर्जन बढी कामदार खटाइएको जानकारी दिनुभयो । विसं २०७७ चैत ३ गतेसम्म रनवे मर्मतको काम सक्ने गरी सम्झौता भए पनि फागुन १७ गतेभित्र नै काम सक्ने गरी लागिपरेको कन्ट्रक्सनका प्रतिनिधि लामाको भनाइ छ । तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४२० मिटर लामो रहेको छ ।

दश वर्षअघि विमानस्थलको धावनमार्ग कालोपत्र पनि यही कम्पनीले गरेको थियो । त्यसमा अहिले ७०० मिटर आधा भाग मर्मतको काम भइरहेको छ । अहिले साना जहाजले ७०० मिटरको धावनमार्गमा उडान भर्दै आएका छन् । अहिले धावनमार्गको दक्षिणतर्फको ७०० मिटरमा काम भइरहेको र त्यो क्षेत्र सम्पन्न भएपछि उत्तरतर्फको धावनमार्गको काम शुरु हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

विमानस्थलमा पूर्णरूपमा जहाज बन्द गरिँदा बिरामी र वृद्धवृद्धालाई असहज परिस्थिति सिर्जना हुने भएकाले साना जहाजले दैनिक उडान भर्न थालेको यती एअरलाइन्सका तुम्लिङटार प्रतिनिधि प्रताप गुरुङले जानकारी दिनुभयो । अहिले तुम्लिङटार विमानस्थलमा यती एयरलाइन्स (१६ सिट भएका), तारा जहाजले उडान भर्दै आएका छन् । यसैगरी धावनमार्गमा बुद्ध एअर, समिट एअरले दैनिक तुम्लिङटार–काठमाडौँ सिधा उडान भर्दै आएका छन् भने हप्तामा दुई दिन सोमबार र शुक्रबार तुम्लिङटार–विराटनगरसमेत उडान भर्दै आएका छन् । यसअघि यती र बुद्ध एयरलाइन्सका २७ सिटे जहाजले दैनिक तुम्लिङटार–काठमाडौँ उडान भर्दै आएका थिए ।

पूर्वी नेपालको सङ्खुुवासभा जिल्ला सडक यातायातले जोडिएको जिल्ला भए पनि सडकको स्तरोन्नति हुन नसक्दा सवारी यातायातको सुविधा त्यति प्रभावकारी बनेको देखिँदैन । खाँदबारीदेखि धरान–विराटनगर जाँदा आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ । यसैगरी सङ्खुवासभामा ठूला अस्पताल र शैक्षिक सङ्घसंस्था नहुँदा धरान, विराटनगर र काठमाडाँै नै धाउनुपर्ने बाध्यता छ । हवाई यातायातका लागि एकमात्र भरपर्दाे तुम्लिङटार विमानस्थल हुँदै सङ्खुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालगायतका नागरिकलाई तुम्लिङटारबाट नै विराटनगर र काठमाडौँ जान नजिक पर्छ ।

विद्यालयलाई स्ट्रेचर र औषधि वितरण

खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक माध्यमिक विद्यालयलाई स्ट्रेचरका साथ आवश्यक प्राथमिक उपचारका सामग्रीसहित औषधि वितरण गरेको छ ।

नगरपालिका क्षेत्रभित्रका १३ वटा सामुदायिक विद्यालयलाई आवश्यक प्राथमिक उपचारका सामग्रीसहित औषधि र नगरका आठ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्ट्रेचर वितरण गरेको नगरपालिकाले जनाएको छ । स्ट्रेचर वितरण गर्ने विद्यालयमा आदर्श मावि पाठकगाउँ, आदर्श मावि पिप्ले, सरस्वती मावि माल्टा, विद्योदय मावि तल्लो पाङ्ठा, जालपा मावि चेवा, हिमालय मावि आङ्ला, जनता मावि चन्दनपुर, विद्यामन्दिर पाठकगाउँ रहेको नगरपालिकाका शिक्षा शाखा अधिकृत दीपकमणि घिमिरेले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र अहिलेसम्म सडकको सुविधा नपुगेका १३ वटा माध्यमिक विद्यालयमध्ये आठ वटा विद्यालयलाई स्ट्रेचर वितरण गरिएको खाँदबारी नगरपालिका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई विद्यालय समयमा रहँदा आकस्मिक चोटपटक लाग्दा तत्काल सवारी साधन नभएको अवस्थामा तुरुन्तै स्वास्थ्य संस्था लैजानका लागि सहज पुगोस् भन्ने उद्देश्यका साथ स्ट्रेचर वितरण गरिएको र स्वास्थ्य संस्था पुग्नुभन्दा अगाडि आफ्नै विद्यालयमा प्रारम्भिक उपचार पाओस् भन्ने उद्देश्यका साथ औषधि वितरण गरिएको उहाँले बताउनुभयो ।

जालपा मावि चेवाका प्रधानाध्यापक श्याम अधिकारीले विद्यालयमा आकस्मिक दुर्घटना हुँदा यसले उद्धारमा सहयोग र सहज पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कैदीबन्दीलाई कोरोना खोप

जिल्ला कारागार खाँदबारीका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप निःशुल्करुपमा लगाइएको छ ।

खाँदबारी कारागारका १२० कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप गत शनिबार लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिनुभयो । खाँदबारी कारागारमा अहिले १३२ पुरुष र नौ महिला कैदीबन्दी छन् । तीमध्ये १२० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । बाँकी २१ जना कैदीबन्दीले खोप लगाउन अस्वीकार गरेकाले उनीहरुलाई कोरोनाविरुद्धको खोप नलगाइएको जिल्ला कारागार खाँदबारी सङ्खुवासभाका प्रमुख विनोद अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यस्तै मनकामना वृद्धवृद्धा आश्रमका २७ जनालाई समेत कोरानाविरुद्धको खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप फ्रन्टलाइनमा काम गर्ने जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लगाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जनाकारी दिनुभयो ।

जिल्लामा पहिलो चरणको खोप स्वास्थ्य कर्मचारी र एम्बुलेन्स चालकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । सङ्खुवासभामा माघ १५ गतेदेखि कोरानाविरुद्धको खोप लगाउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो । सङ्खुवासभामा कूल २१ सय डोज खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने ९०० भन्दाबढीलाई कोरोनाविरुद्धको खोप लगाइ सकिएको र अब क्रमशः सुरक्षा क्षेत्रमा काम गर्ने सुरक्षाकर्मी, सञ्चारकर्मी र सेवाग्राही र निजामती कर्मचारीलाई समेत खोप लगाउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।