१२ बैशाख २०८१, बुधबार

नेकपा ओली समूहको विराटनगरमा फागुन ८ गते प्रदेशस्तरीय जनसभा

KP Oli 1

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने सभामा प्रदेशका १४ जिल्लाबाट सहभागिता हुने नेकपाको प्रदेश नं १ प्रदेश कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले विकास, समृद्धि र राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मूल केन्द्र मानेर १० हजारको सहभागितामा मोटरसाइकल ¥यालीको आयोजना गर्ने, फागुन ७ गते बिहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचोक, दमक, विर्तामोडमा युवाको आयोजनामा प्रभातफेरी गरिने बताउनुभयो ।

प्रेस सङ्गठन नेपालका इञ्चार्ज गौतमले फागुन ७ गते दिउँसो युवा÷विद्यार्थीको मार्चपास र प्रेस सङ्गठन नेपालको प्रदेशस्तरीय भेलाको पनि आयोजना गरिने जानकारी दिनुभयो ।

प्रदेशस्तरीय सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सम्बोधन गर्नुहुनेछ । प्रदेश १ का १४ वटै जिल्लाबाट एक लाख ३६ हजार भन्दाबढीकोसहभागिता रहने मूल जनपरिचालन समितिका सचिव विनोद ढकालले जानकारी दिनुभयो ।

जनसभालाई भव्य बनाउनका नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा एक हजार १११ सदस्यीय समिति निर्माण गरिएको छ । केन्द्रीय सदस्य गौतम र अर्का केन्द्रीय सदस्य तथा आन्तिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की उपसंयोजक रहेको प्रचारप्रसार कमिटीसमेत गठन गरिएको छ ।